चितवन– मंसिर १४ गते हुने उपनिर्वाचनलाई मध्यनजर गर्दै चितवन जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ। जिल्लाका उपनिर्वाचन हुने क्षेत्रमा सुरक्षामा कडाइ गरिएको बताइउको छ।
चितवनको भरतपुर महानगरपालिका–१६ र खैरहनी नगरपालिकाको–४ एवं ५ को वडाध्यक्षका लागि उपनिर्वाचन हुँदैछ। मौन अवधि शुरु भइसकेकाले ती क्षेत्रमा अवाञ्छित क्रियाकलाप नहोस् भन्नका लागि प्रहरीको गस्तीमा कडाइ गरिएका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले जानकारी दिएका छन्।
निर्वाचन हुने क्षेत्रहरुमा बुधबार साँझबाट नै मदिरा उत्पादन, बिक्री वितरण र सेवनमा रोक लगाइएको छ। मतदानका दिन निर्वाचनस्थल भित्र नेपाल प्रहरी, बाहिरी घेरामा सशस्त्र प्रहरी र त्यसबाहिर नेपाली सेनाले सुरक्षा दिने बस्नेतले बताए। एउटा मतदान केन्द्रमा ११ जना नेपाल प्रहरी परिचालन भएका छन्।
त्यसैगरी सबै कर्मचारी मतदानस्थल पुगेको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले बताएका छन्। उनीहरुले परिचयपत्र वितरण र मतदान केन्द्र निर्माणको काम शुरु गरेका छन्। जिल्लामा ६ वटा मतदानस्थल र १५ वटा केन्द्र तय गरिएको छ । भरतपुर महानगरपालिका–१६ मा आठ हजार ४८१, खैरहनी नगरपालिका–४ मा दुई हजार ६९२ र वडा नं ५ मा दुई हजार १११ मतदाता रहेका छन्।