काठमाडौं– निर्वाचन आयोगले उपनिर्वाचनका लागि खटाइएको ५ हजार ५ सय ५२ कर्मचारी मतदानस्थलमा पुगेको जनाएको छ। मंसिर १४ गते हुने उपनिर्वाचन गराउन कर्मचारीहरु मतदानस्थल पुगेका हुन्।
बिहिबार एक विज्ञप्ती जारी गर्दै आयोगले कर्मचारीहरु मतदानस्थलमा पुगिसकेको बताएको हो। कर्मचारीले मतदान हुनुअघि सर्वदलीय एवं सर्वपक्षीय बैठक गरी उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न गराउन मतदाता परिचयपत्र वितरण र मतदान केन्द्रको निर्माण गर्नेछन्।
त्यसैगरी आयोगले मतदान केन्द्रमा खटिएका कर्मचारीलाई सहयोग गर्न राजनीतिक दल, उम्मेदवार तथा अन्य सरोकारवाला व्यक्ति, संघ संस्था र निकायलाई आयोगले आग्रह गरेको छ । त्यस्तै अपाङ्गता भएका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, अशक्त वा बिरामी मतदातालाई प्राथमिकता दिई मतदान गर्न पाउने व्यवस्था मिलाउन मतदान अधिकृतहरुलाई आयोगले निर्देशन दिएको छ।
निर्वाचनसँग सम्बन्धित सबै पक्षको भरपर्दो सुरक्षा व्यवस्था मिलाइएकोले डर, त्रास, धम्की र प्रलोभनमा नपरी ढुक्क भएर मतदान गर्न पनि आयोगले अपील गरेको छ।