काठमाडौं– नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेस सिन्धुलीका पूर्वसभापति एवं महासमिति सदस्य रङ्गराज खतिवडाको निधनप्रति दुःख व्यक्त गरेको छ।
सभापति देउवाले आज एक शोक वक्तव्यमार्फत उनको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ। खतिवडाको मङ्गलबार सिन्धुली फर्कने क्रममा निधन भएको हो।
खतिवडाका निधनबाट पार्टीले एक कुशल नेतृत्व एवं सङ्गठनकर्तालाई गुमाएको र पार्टीलाई अपूरणीय क्षति पुगेको विज्ञप्तिमा उल्लेख छ।
काँग्रेसमा निरन्तर क्रियाशील रहेर स्व खतिवडाले पार्टीको सङ्गठन र नेपालको लोकतान्त्रिक आन्दोलनमा अनवरतरुपमा सक्रिय भूमिका निर्वाह गरेको पार्टी कार्यालयले जनाएको छ।
कमलामाई नगरपालिका–१ डाडीगुराँसे निवासी खतिवडाको पार्थिव शरीरलाई आजै गृह जिल्लामा दाहसंस्कार गरिने कार्यक्रम छ। (रासस)