पोखरा– कास्की क्षेत्र नं २ मा मंसिर १४ गते हुन लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा मतदान केन्द्र तोकिएका विद्यालयहरुमा तीन दिन सार्वजनिक बिदा दिइने भएको छ। मंसिर १२ देखि १४ गतेसम्म पोखरा महानगरपालिकाले मतदान केन्द्र तोकिएका महानगरका ११ वडाका २९ विद्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
महानगर शैक्षिक प्रशासन महाशाखाका प्रमुख गंगाबहादुर गुरुङको अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अनुरोधबमोजिम सार्वजनिक बिदा दिने निर्णय गरिएको हो।सार्वजनिक बिदाकोबेलामा विद्यालयमा अन्य कुनैपनि प्रकारका कार्यक्रम आयोजना नगर्न सूचना पत्रमा उल्लेख गरिएको उनले जनाए। उपनिर्वाचनका लागि ३२ मतदानस्थल र ८२ मतदान केन्द्र तोकिएको छ। विद्यालयबाहेक तीन वडा कार्यालयलाई समेत उपनिर्वाचनमा मतदानस्थल तोकिएको छ।
जिल्ला निर्वाचन कार्यालयले उपनिर्वाचनमा मतदान अधिकृत तोकिएकालाई मतपत्रसहित ५६ प्रकारका निर्वाचन सामग्री हस्तान्तरण गरेको छ। मतपत्रसहित निर्वाचन सम्पन्न गराउन आवश्यक सामग्रीसहित मतदान अधिकृत, सहायक मतदान अधिकृतलगायत कर्मचारी आज बेलुकासम्म सम्बन्धित मतदानस्थलमा पुगिसक्ने कार्यालयका प्रमुख महेन्द्र सुवेदीले जानकारी दिए।
४५० कर्मचारी उपनिर्वाचनमा परिचालन गरिएको छ। मतदाता संख्याका आधारमा एउटा मतदान केन्द्रमा पाँचदेखि आठसम्म कर्मचारी खटाइएको छ। त्यस्तै कर्मचारीबाहेक प्रत्येक मतदान केन्द्रमा दुईदेखि चार स्वयंसेवक परिचालन गरिनेछ। प्रमुख सुवेदीले निर्वाचनको सम्पूर्ण तयारी सकिएको बताए। उनकका अनुसार मतपत्र, कर्मचारी व्यवस्थापन, मतदाता शिक्षा, सुरक्षा प्रवन्धलगायत आवश्यक सम्पूर्ण तयारी सकीएको छ र जनताले कुनै पनि समस्याबिना नै मतदान गर्न सक्ने गरि व्यवस्था मिलाइएको छ।
थप भएका नयाँ मतदाताका लागि निर्वाचन कार्यालयले १२ र १३ गत मतदाता परिचयपत्र वितरण गर्ने भएको छ। मतदाता परिचयपत्र सम्बन्धित मतदानस्थलमा वितरण गरिने छ। कार्यालयका सूचना अधिकारी रुद्रनाथ न्यौपानेले मतदाता नामावलीमा नाम समावेश भएकाहरुका लागि यसअघि वितरण गरिएको परिचयपत्र वा सरकारी कार्यालयबाट जारी भएको परिचय खुल्ने जुनसुकै कागजपत्रका आधारमा पनि मत खसाल्न पाउने व्यवस्था मिलाइएको बताएका छन्।