दाँङ– प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले अबको तीन वर्षभित्र प्रदेशको आर्थिक वृद्धिदर दोब्बर हुने बताएका छन्। हापुरेमा मङ्गलबार भएको चुनावीसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रदेश ५ का इञ्चार्जसमेत रहनुभएका उहाँले वर्तमान सरकारले सबैभन्दा बढी आर्थिक वृद्धिदरको लक्ष्य हासिल गरेको उल्लेख गरेका छन्।
नेपालले पाँच वर्षपछि दक्षिण एशियालाई नै चकित पार्ने गरी आर्थिक वृद्धिदर हासिल गर्ने मुख्यमन्त्री पोखरेलले बताएका छन्। सरकारका गतिविधिप्रति प्रतिपक्षी दलले नकारात्मक टिप्पणी गर्न थालेको भन्दै उनले सरकारको प्रगति हेर्न तीन वर्ष कुर्न आग्रह गरेका छन्।
जिल्लाको विकासका लागि प्रदेशसभा सदस्य स्व उत्तरकुमार वली सदैव लागिपरेको भन्दै मुख्यमन्त्री पोखरेलले भविष्य कोर्ने जिम्मेवारी अब नेकपाका उम्मेदवार विमला वलीको काँधमा आएको बताएका छन्। सो अवसरमा नेकपा प्रदेश ५ का अध्यक्ष ओनसरी घर्ती, सचिव जगप्रसाद शर्मा लगायतले आ–आफ्नो धारणा राखेका थिए। रासस