मनिषा पुडासैनी, काठमाडौँ – मेहनत र लगनशील भई जुनसुकै व्यवसाय अँगाले पनि सफल भइन्छ भन्ने राम्रो उदाहरण बनेका छन्– कृष्णराम थापा। २०५७ सालदेखि नर्सरी व्यवसाय सञ्चालन गर्दै आएका थापाले फलफूल तथा तरकारी जातका बिरुवा उत्पादन गरेर महिनामा ८ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन्।
थापाको हाल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको गेटनजिकै रहेको ठूलो फाँटमा ‘थापा नर्सरी केन्द्र’ रहेको छ। करिब ७ रोपनी क्षेत्रफलमा फैलिएको नर्सरीमा आँप, कागती, सुन्तला, बाँस, निगालो, लालीगुराँस, गुलाफ, सयपत्री, गोदावरीजस्ता वनस्पतिका बिरुवाहरूका साथै तरकारीका बिरुवा तथा माटोका भाँडाहरू पनि प्रशस्तै रहेको देख्न सकिन्छ।

हाल श्रीमती र दुई छोराछोरीका साथ कीर्तिपुरमै डेरामा बस्दै आइरहेका थापा भन्छन्, ‘नर्सरी व्यवसायबाट सन्तुष्ट छु। यही व्यवसायबाटै आफ्ना छोराछोरीलाई उचित शिक्षा दिन र घरव्यवहार चलाउन पुगिरहेकै छ। मेहनत गर्ने हो भने नर्सरी व्यवसायबाट पनि राम्रैसँग जीवन निर्वाह गर्न सकिन्छ।’
हिजोआज रोजगारीको खोजीमा विदेशिनेहरूको संख्या बढ्दो छ तर थापाले आफ्नै देशमा बसेर केही गर्छु भन्ने दृढ विश्वासका साथ यो पेसा अँगालेका हुन्। एसएलसी दिएपछिको युवावस्थादेखि नै शुरू गरेको यो व्यवसायलाई थापाले अहिले ३८ वर्षको उमेर हुँदासम्म पनि निरन्तरता दिई नै रहेका छन्। थापाको नर्सरीमा करिब २३ जनाले रोजगारीसमेत पाएका छन्।

‘नमुना नर्सरी केन्द्र’का रूपमा चर्चित उनको नर्सरीबाट विभिन्न फलफूल जातका वार्षिक ३ लाख बिरुवा उत्पादन हुँदै आएको छ। उत्पादित बिरुवाहरू काठमाडौँ, ललितपुर, भक्तपुरलगायत विभिन्न जिल्लामा खपत हुने गरेको छ। आफूले उत्पादन गरेका बिरुवाहरू विभिन्न सरकारी निकाय, एनजीओ÷आईएनजीओ तथा प्राइभेट संस्थाहरूमा बढी खपत हुने गरेको थापाको भनाइ छ।
उपत्यकाबाहिर तथा स्थानीय बजारमा पनि बिरुवाको माग उत्तिकै बढ्दो रहेको थापा बताउँछन्। भन्छन्, ‘अहिले बजारको माग बढ्दो छ, मागअनुसार उत्पादन गर्न नै कठिनाइ भइरहेको छ।’ उनको नर्सरीमा उत्पादन हुने विभिन्न प्रकारका बिरुवाहरू प्रतिगोटा १५ देखि ३ हजार ५ सय रुपैयाँसम्ममा विक्री हुने गरेको उनी बताउँछन्। थापाका अनुसार तयार हुन समय लाग्ने बिरुवाको मूल्य अलि बढी पर्छ भने छिटो उत्पादन हुने बिरुवाहरूको मूल्य थोरै पर्न जान्छ।

थापा भन्छन्, ‘खर्च कटाएर पनि मासिक डेढ लाखदेखि २ लाख रुपैयाँसम्म आम्दानी हुन्छ।’ नेपालमा फलफूल खेती मौसमअनुसार हुने गरे पनि फूलको खेती भने वर्षभरि नै हुने भएकाले फूलका बिरुवाहरूको माग दिन प्रतिदिन बढ्दै गइरहेको थापा बताउँछन्।
पछिल्लो समय होटल, अस्पताल, सरकारी भवनमा मात्र नभई कतिपय निजी घरका बार्दली र आँगनमा समेत सजावटका लागि फूल राख्ने चलन बढ्दो छ। साथै, उपभोक्ताको चाहनाअनुसारका बिरुवा उत्पादन गर्ने लक्ष्यअनुरूप उनले व्यवसाय सञ्चालन गरिरहेका छन्। सम्बन्धित निकायले फलफूल व्यवस्थापनसम्बन्धी तालिम तथा सीप विकासमा सहयोग गरे आफूजस्ता नर्सरी व्यवसायीलाई फाइदा पुग्ने थापाको भनाइ छ।
हेर्दा सजिलो देखिए पनि फूलका बिरुवा उमार्न र त्यसको स्याहार गर्न अत्यन्तै गाह्रो हुने थापाको अनुभव छ। पछिल्लो समय नर्सरीका लागि चाहिने प्लास्टिक, मल र बीउको मूल्य बढ्नुका साथै अभाव पनि रहेको उनी बताउँछन्।

