काठमाडौँ - नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सबैभन्दा मन पर्ने देश कम्बोडिया भएको बताएका छन्। सोमबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित एक कार्यक्रममा थापाले भने, ‘नेपाल कम्युनिष्ट पार्टीको सरकार बन्यो भन्ने होइन। सरकार चलाउनै नसकेको नेपाल कम्युनिष्ट पार्टीले कम्युनिष्ट सत्ता निर्माण गर्न खोज्यो। समस्या यो हो।’
नेता थापाले कार्यक्रममा गरेको सम्बोधनको सम्पादित अंशः
देशको राजनीतिक परिस्थितिका बारेमा हामीले खोजी गरिरहेका छौँ। एकातिर नेपाल कम्युनिष्ट पार्टी ‘विप्लव’का नाममा भइरहेका घटनाहरूको हामी स्वयं साक्षी छौँ। अर्कातिर हामी पूर्वराजावादीहरूका गतिविधिहरू पनि हेरिरहेका छौँ। नेपालभित्र र बारिकका घटनाहरू पनि नियालिरहेका छौँ। सबैभन्दा बढी चिन्ता र चासोपूर्वक चुनावबाट आएको सत्तारूढ दल नेकपा र उसको सरकारलाई हेरिरहेका छौँ।
पछिल्ला घटनालाई स्मरण गर्ने हो भने १२ बुँदे बृहत् शान्ति सम्झौतापछि प्राप्त परिवर्तनलाई समृद्धिको स्वरूप दिँदै गर्दा हामीले लोकतन्त्र भन्न छोडेर अनायास गणतन्त्र भनेको होइन। सुविचारसहित प्रजातन्त्रलाई छोडेर लोकतन्त्र भनिएको हो। लोकतन्त्रपछि गणतन्त्र भनिएको हो। प्रजातन्त्रमा औपचारिक समानता भनियो। गणतन्त्रमा कानूनी समानताको खोजी भएको हो। सँगै व्यक्तिको स्वतन्त्रतालाई जोडबलले उठाएका थियौँ। प्रजातन्त्रको विस्तारित रूपमा गणतन्त्र ल्यायौँ। राजालाई आम नागरिक बनायौँ। माओवादीलाई राजनीतिको मूलधारमा ल्यायौँ। लामो संघर्षबाट संविधान प्राप्त गर्यौँ। संविधानको जगमा उभिएर चुनाव भयो।
चुनावबाट नेपाल कम्युनिष्ट पार्टीको दुई तिहाइको सरकार बन्यो। के दुई तिहाइको सरकार बन्नै नपाउने हो? के नेपाल कम्युनिष्ट पार्टीले चुनाव जित्नै नपाउने हो? आज हामीले नेपाल कम्युनिष्ट पार्टीले चुनाव जित्यो, त्यसकारण बर्बाद भयो भन्ने हो भने त त्यही नेपाल कम्युनिष्ट पार्टी हो, जोसँग मिलेर भर्खर अस्ति हामीले आन्दोलन गर्यौँ। नेपाल कम्युनिष्ट पार्टीले भोलि दुई तिहाइ होइन, तीन चौथाइ पनि ल्याउन सक्छ। हामीसँग भएका सबै सिटमा निर्वाचित भएर आउन पनि सक्छ। के हाम्रो चिन्ता यो हो? होइन।
अहिले नेपाल कम्युनिस्ट पार्टीको दुई तिहाइको सरकार बन्यो। हामीले बनाएको संविधान कार्यान्वयनबाट हामीहरू यहाँसम्म आइपुगेका छौँ। जनताले हामीलाई प्रतिपक्षको जिम्मेवारी दिएका छन्। साढे ३ वर्षपछि चुनाव हुन्छ। त्यसो भएको भए आज हामी देशको परिस्थितिका आधारमा कांग्रेसको भूमिका होइन, अर्को चुनावमा कांग्रेसले के गर्ने भनेर छलफल गरिरहेका हुन्थ्यौँ। हामी त्यो नगरेर फेरि किन देशको परिस्थितिबारे छलफल गर्न बाध्य भएका छौँ?
अहिले सरकारले गर्नुपर्ने नियमित कामहरू छन्। शान्ति सुरक्षा, सुशासनको काम छ, ती कामहरू गर्न चुकेको छ। गरेको छैन। क्षमता राख्न सकेन। नागरिक भएर चित्त दुखाउने कुरा छ। कांग्रेस भएर खुसी हुने कुरा छ। यो सरकारले धेरै राम्रो काम गरेन भने साढे ३ वर्षपछि हामी राम्रो काम गर्छौं भनेर आउन सक्ने भयौँ। त्यसो भए धेरै दुःख मान्नु परेन। कुरा यहाँ गएर टुंगिन्न।
कुरा योभन्दा अगाडि बढ्यो र हामीलाई चिन्तित बनायो। दुई कम्युनिस्ट पार्टी मिलेर नेपाल कम्युनिष्ट पार्टी बनेपछि यसले जसरी शासन सत्ता चलायो, संसदमा आएका विधेयकहरू हेर्नुस्, मिडिया काउन्सिल विधेयक हेर्नुस्, सूचना प्रविधि विधेयक हेर्नुस्। एकपछि अर्को कानून हेर्नुस् र सबै पारित भयो भनेर मान्नुस्। र, कांग्रेस अहिलेको जस्तो कमजोर भएको मान्नुस्। नेपालको अवस्था कस्तो होला?
अहिले हाम्रो प्रधानमन्त्रीलाई सबैभन्दा मन पर्ने देश कम्बोडिया। कम्बोडियामा सन् २०१४ सालमा चुनाव भयो। हुनसेन प्रधानमन्त्री हुनुभयो। विपक्षी दलले चुनावमा धाँधली भयो भन्यो र ठूलो आन्दोलन भयो। आन्दोलनसँग सम्झौता भयो। छिटो चुनाव गर्ने भनियो। तर, उनीहरूले सम्झौता मानेनन् र सन् २०१८ मा चुनाव भयो।
सन् २०१८ सम्म आइपुग्दा नपुग्दै हुनसेनले नेपाली कांग्रेसजस्तै प्रमुख प्रतिपक्षी दलको नेता विदेश गएको बेला अहिले हामीकहाँ छलफल भएको जस्तै त्यहाँ पनि छलफल थियो, एउटा दुईटा भ्रष्टाचारका प्रकरण थिए। त्यसमा मुद्दा लगाएर विदेश गएका प्रमुख प्रतिपक्षी दलका नेतालाई देश छिर्न दिइएन। पार्टीले बाध्य भएर नयाँ सभापति बनायो।
नयाँ सभापतिलाई राजद्रोहको मुद्दा लगाइयो। राजद्रोहको मुद्दा लगाउनु गलत भनेर पत्रिकाले लेख्यो। प्रधानमन्त्री हुनसेनले त्यो पत्रिकाको सम्पादकलाई थुन्नुभयो। थुन्नका लागि चाहिने सबै कानून बनाइयो। यतिले पुगेन, चुनावभन्दा ठीक केही महिना अगाडि हुनसेनको सरकारले प्रमुख प्रतिपक्षी दलमाथि नै प्रतिबन्ध लगाइदियो। प्रतिबन्ध लगाउन चाहिने कानून त्यहाँको संसदले पारित ग¥यो। अदालतमा गयो, मुद्दा लाग्दैन।
अस्ति भर्खर (सन् २०१८ मा) चुनाव भयो। २०/२२ वटा पार्टीले भाग पनि लिए। स्वतन्त्र प्रेस छैन? छ। लेख्दैन? लेख्छ। पार्टी छैनन्? छ। अदालत छैनन्? छ। संसद् छैन? छ। सबै कुरा छ। १ सय २५ सिटमा भएको चुनावमा १ सय २५ नै हुनसेनको पार्टीले जित्यो।
अहिले कम्बोडियामा हुनसेनको पार्टीको सरकार छ। बहुदल पनि छ। प्रेस पनि छ। अदालत पनि छ। सबै कुरा छ। संसारमा अनुदारवादी लोकतन्त्र कस्तो हुन्छ भन्ने पछिल्लो उदाहरण हो यो। अब मानिसहरू बन्दुक बोकेर आएर निर्वाचित सरकारलाई अपदस्थ गर्दैन, चुनावबाट यसरी नै आउँछ।
अहिले नेपाल कम्युनिस्ट पार्टीको बनेको छ। साढे ३ वर्षपछि हामी यसलाई बदलौँला। हामी चुनाव जितेर आउँला। राम्रो काम गरे फेरि जितौँला, नराम्रो काम गरे हारौँला। फेरि नेकपा आउँछ। अनन्तकालसम्म हामी जित्छौँ भन्ने पनि छैन, हार्छौं भन्ने पनि होइन। समस्या नेपाल कम्युनिष्ट पार्टीको सरकार बन्यो भन्ने होइन। सरकार चलाउनै नसकेको नेपाल कम्युनिष्ट पार्टीले कम्युनिष्ट सत्ता निर्माण गर्न खोज्यो। समस्या यो हो।
हाम्रो संविधानले स्पष्टसँग सरकारसँग कति अधिकार छ? संसदसँग कति अधिकार छ? अदालतसँग कति अधिकार छ? संवैधानिक आयोगसँग कति अधिकार छ? नागरिकसँग कति अधिकार छ भन्ने बन्दोबस्त गरेको छ। बाँडफाँट गरेको छ। प्रारम्भ यहीँबाट भयो। सरकार संसदसँग भएको अधिकार मान्दैन। अदालत सरकारको छायाँजस्तो भएको छ। र, हिजो उहाँहरूले कानून उल्लंघन गरेर गर्छस् भनेर प्रश्न उठाइराख्नुभएको थियो। सरकार अहिले त्यो गर्न पाउने गरी कानून बनाउँदैछ। संसदभित्रको शक्ति प्रयोग गरेर एकपछि अर्को कानून बनाउँदैछ।
यही तरिकाबाट जाने हो भने ३/४ वर्षपछि देशमा कस्तो अवस्था आउँछ भन्दा दुईवटा विकल्प छ। एउटा, स्थिर सरकारले पनि डेलिभर गर्न सकेन भनेर नागरिक सरकारसँग होइन, व्यवस्थासँग रिसाउँछन्। र, त्यसलाई प्रयोग गरेर यो व्यवस्था नै मास्ने खतरा हुन्छ।
दोस्रो, यदि त्यस्तो हुनबाट हामीले बचायौँ भने सरकार आफैँले सत्ता निर्माण गरेर कम्बोडियामा जस्तो भयो। नेपालमा ५ वर्षपछि चुनाव छ। चुनावचाहिँ नेपालमा हुने तर कम्बोडियाको जस्तो। यो दुवै विकल्पमा देश गयो भने कांग्रेसले जित्यो कि हार्यो? कांग्रेसले चुनाव जित्छ कि हार्छ? यो महत्त्वपूर्ण होइन अहिले । साढे ३ वर्षपछि चुनाव जितौँला, जित्ने प्रयास गरौँला, नजिते हारौँला।
कांग्रेसले सधैँ यो नियति बेहोर्नुपर्ने? २०१५ सालमा जित्ने, ०१७ सालमा हारिहाल्नुपर्ने? ०४६ सालमा जित्ने, ०५१ मा हारिहाल्नुपर्ने? फेरि अहिले यत्रो लामो यात्राबाट देश शान्ति र स्थिरतामा गयो भन्नासाथ २/३ वर्षमा फेरि गडबढी शुरु भइहाल्नुपर्ने? यो प्रणाली गइहाल्नुपर्ने? यो व्यवस्था नजोगाउने? हाम्रो चिन्ता यही हो। हामीले ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र अप्ठ्यारोमा छ, दुर्घटनामा पर्न लागेको छ।
यसको कारण जुन चालकले चलाउँछु भनेर गाडी लिएर गएको छ, चालकले नै धोका दियो। चालकले नै गाडी अर्को ठाउँमा लिएर जान लाग्यो। तर, हामीले चाहेर पनि अहिले त्यो चालक बदल्न सक्दैनौँ। साढे ३ वर्ष केही हुनेवाला छैन। पार्टी (नेकपा) फुट्दा पनि फुट्दैन। यही सरकार चल्छ, चल्न दिने पनि हो। तर, यसलाई ठीक ठाउँमा राख्ने हो। दायाँबायाँ गर्न नदिने हो। भनेको बाटोभन्दा तलमाथि हिँड्न नदिने हो। यो भनेर मात्र हुँदैन, तागत चाहिन्छ।
तागत के को आधारमा हुन्छ? भर्खर हामीले गुठी विधेयकमा देख्यौँ। हामी कति थियौँ? ६२/६३ जना छौँ, ह्याकुलाले पेले पनि पेलिने अवस्थामा छौँ संसदमा। तर, बाहिर चोक र चौतारामा आइसकेपछि ‘का बेइमान ज्वाइँ’ भनेर सारा मान्छे आएपछि क्षमाक्षमा, मैले बोलेकै छैन भन्न लाइन लाग्नुपर्ने अवस्था आयो। यो हो जनताको तागत। सडकको यो तागतलाई सदनसँग एकाकार गर्नुपर्यो।
यसका निम्ति कांग्रेस वैचारिक हिसाबले स्पष्ट भएन भने सम्भव छैन। कमल थापाले बीपी कोइरालाको राष्ट्रिय मेलमिलाप नीति पार्टीको मार्गदर्शक सिद्धान्त भयो भनेर भाषण गरे। हिजो बाबुराम भट्टराईले ट्विट गर्नु भएछ, ‘बीपीलाई अपहरण गरेर लगे, जोगाऊ, जोगाऊ। म पनि साथमा छु।’ भन्ने पनि भए, अस्ति भर्खर चुनावमा कमल थापालाई पनि भोट माग्न गएको छ, बाबुरामलाई पनि भोट माग्न गएको छ। किन माग्न गएको छ? अहिलेसम्म थाहा छैन। कसले पठाएको? त्यो पनि थाहा छैन। किन गर्यो? थाहा छैन। समीक्षा गर्न पनि तयार छैन।
चुनावको कुरा मात्र होइन, हाम्रो वैचारिक कुरा पनि हो। हामीले नै यो परिवर्तन गरेको, संविधान ल्याएको पनि हामी भन्छौँ। गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा १२ बुँदे शान्ति सम्झौता भएकोमा गर्व गर्छौं। सुशील कोइरालाको नेतृत्वमा संविधान बन्यो भनेर गर्व गर्छौं। कृष्ण सिटौलाको नेतृत्वमा संविधान निर्माणको काम भयो भनेर गर्व गर्छौं। शेरबहादुर देउवाको नेतृत्वमा चुनाव भएकोमा गौरव गर्छौं। तर, संविधानमा के लेख्यौँ? के लेख्यौँ, अलमलमा पर्यौँ पनि भन्छौँ। यो पनि हाम्रो होइन, यो पनि अर्कोले भनेर आएको, त्यो पनि अर्काले भनेर आएको। गणतन्त्र, संघीयता हाम्रो एजेन्डा थिएन जस्ता कुरा गर्ने? यस्तो गर्न पनि पाइन्छ?
मैले माथि पनि भनेँ, हामीले प्रजान्त्रको मार्गलाई अझ फराकिलो बनाएका हौँ। परिवर्तन हामीले लडेर ल्याएका हौँ। यो परिवर्तन हामीले गरेका हौँ भनेर प्रस्टता नहुँदासम्म अलमल रहन्छ र यो रहँदासम्म हामी प्रतिरोध सिर्जना गर्न सक्देनौं। हाम्रो पार्टीको विगतको नेतृत्वले देश आजको दिनसम्म ल्याइदिएको छ। अब यसलाई हामी युवाले जोगाउने हो।
देशको मूल राजनीतिलाई नेतृत्व प्रदान गर्ने काम हाम्रो हो। अनुहारमा कालो दाग लागेको छ। तर, यो डिम्पल हो भनेर भन्न मिल्छ? दाग पखाल्नतिर लागौँ, मेटाउनतर्फ लागौँ न।’ पार्टीका धारणाबारेमा जनतामा गलत सन्देश गएको छ। यसका बारेमा माफी मागेर सच्याएर अघि आउँछौँ भन्न सक्नुपर्छ। डेन्टिङ, पेन्टिङले मात्रै गाडी चल्दैन।
केन्द्रदेखि स्थानीय तहसम्मका संगठनलाई पूर्णता दिने र पार्टीको १४औँ महाधिवेशनको तयारीमा जुट्दा के घाटा हुन्छ? भनेर सोध्ने हो भने कसैले पनि यो घाटा छ भनेर जवाफ दिन सक्दैन। तर, कांग्रेसलाई १४औँ महाधिवेशनमा नलाने हो भने, संघीयता अनुसारको संगठन निर्माण नगर्ने हो भने पार्टीलाई कति घाटा हुन्छ? यसका बारेमा म घन्टौँ भन्न सक्छु, ‘पार्टी नेतृत्व तयार नभएसम्म हामीले ताली बजाएर मात्रै हुने रहेनछ। पार्टीको विधि मान्नुपर्ने रहेछ।’
पार्टीभित्र को हार्छ? को जित्छ भन्ने कुरा मूल सवाल होइन। देशको जिम्मेवारी लिन, परिवर्तनलाई संस्थागत गर्न र लोकतन्त्रलाई बलियो बनाउन कांग्रेस चाहिएको छ। त्यसैले यो मञ्चबाट म सभापतिज्यूलाई तत्काल महाधिवेशनमा जुट्न र मिति घोषणा गर्न आग्रह गर्दछु। देशलाई कुनै पनि जोखिमबाट बचाउन कांग्रेस चाहिएको छ। सदृढ कांग्रेस चाहिएको छ। जीवन्त कांग्रेस चाहिएको छ। त्यसका लागि कांग्रेसको १४औँ महाधिवेशन तत्काल गर्नुपर्छ। सामूहिक तागतका आधारमा पार्टीलाई चलायमान बनाउनतिर लागौँ। यसले नेकपालाई बरालिन दिँदैन।
भिडियो हेर्नुहोस् :
https://www.facebook.com/100012934714733/videos/684107195363765/