वीरगञ्ज - मधेश आन्दोलनका ‘जिउँदो शहीद’ मुन्सी पटेललाई थप उपचारका लागि हिजो बिहीबार काठमाडौँ लगिएको छ। उनलाई समाजवादी पार्टी पर्साका जिल्ला अध्यक्ष एवम सांसद प्रदीप यादवको विशेष पहल र वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीको प्रत्यक्ष निगरानीमा हिजो अपरान्ह ४ बजे राजधानी लगिएको हो। उनलाई विशेष उपचारका लागि काठमाडाैँ ट्रमा सेन्टरमा लगिएको बताइएको छ।
मुन्सीलाई भेट्न नारायणी क्षेत्रीय अस्पताल पुगेका नगर प्रमुख सरावगीले उनको स्वास्थ्य अवस्थाको जानकारी लिँदै थप उपचारका लागि काठमाडौँ लैजान सबै व्यवस्थापन मिलाएका थिए। उनले वीरगञ्जबाट काठमाडौँ लैजान एम्बुलेन्सको व्यवस्थापनका साथै आर्थिक सहयोगसमेत गरे। त्यस्तै, सांसद प्रदिप यादवले मुन्सीको विशेष उपचारका लागि काठमाडौँको ट्रमा सेन्टरमा भर्नालगायतका सुविधाहरू मिलाउने व्यवस्था मिलाए।
मधेश आन्दोलन संघीय समाजवादी पार्टीको नेतृत्वमा त्यति उचाइमा पुगेको बताउँदै सांसद यादवले आफूहरू मधेश आन्दोलका शहीदलाई कहिल्यै पनि बिर्सन नसक्ने बताउँदै मुन्सीको उपचारका लागि हदैसम्मको व्यवस्थापन तथा पहल गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे।
नगर प्रमुख सरावगीसँगै नारायणी अस्पताल पुगेका वडा सदस्य सुशील साहकानु, नगर प्रमुख सरावगीका राजनीतिक सल्लाहकार मुकेश द्विवेदीलगायत व्यक्तिहरूले मुन्सीको शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए।