काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका समसामयिक प्रश्नहरूको तत्काल जवाफ दिन सरकारलाई स्पष्ट निर्देशन दिएका छन् ।
सोमबार (असार २२ गते) बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अर्यालले संसद्को आकस्मिक र शून्य समयमा सांसदहरूद्वारा उठाइएका जनसरोकारका विषयहरूलाई गम्भीरतापूर्वक लिन आग्रह गर्दै सरकारलाई जवाफदेही बन्न निर्देशन दिएका छन् ।
बैठकलाई सम्बोधन गर्दै सभामुख अर्यालले भने, ‘सभाको आकस्मिक समय र शून्य समयमा माननीय सदस्यहरूले उठाउनुभएका विषयहरूमा जवाफ दिन म सरकारलाई निर्देशन गर्दछु।’
मनसुन सक्रिय भएसँगै मुलुकभर प्राकृतिक प्रकोपको जोखिम बढेको तर्फ ध्यानाकर्षण गराउँदै सभामुख अर्यालले विपद् व्यवस्थापनका क्षेत्रमा सरकारले गरिरहेका कामको फेरिस्त संसद्मा पेस गर्न निर्देशन दिए ।
निर्देशनका क्रममा भने, ‘देशका विभिन्न भागमा बाढी, पहिरो तथा डुबानका कारण हुनसक्ने जनधनको क्षति न्यूनीकरण तथा विपद् व्यवस्थापन र पूर्वतयारीमा भए÷गरेका कामकारबाहीका सम्बन्धमा समेत जानकारी गराउन सरकारलाई निर्देशन गर्दछु।’
संसद्मा देशभरका बाढी–पहिरो पीडितको उद्धार, राहत र पूर्वतयारीबारे सांसदहरूले सरकारको जवाफ माग गरिरहेका बेला सभामुखको तर्फबाट यो रुलिङ (निर्देशन) आएको हो।