काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादव उपत्यकावासीका लागि बहुप्रतिक्षित मेलम्ची खानेपानी आपूर्ति प्रणालीअन्तर्गतका कामलाई अझ प्रभावकारी बनाउने उद्देश्यले आज राति अनुगमनमा निस्किएका छन् ।

आइतबार राति मन्त्री यादवले प्रधानमन्त्री निवास बालुवाटारदेखि नक्साल, टुँडालदेवी, विशालनगर, वङ्शीधर मार्ग र सुवर्णशम्शेर सडकसम्मका क्षेत्रमा मेलम्ची खानेपानीको पाइपलाइन बिच्छाइएको स्थलहरूमा छड्के अनुगमन गरेका हुन् ।
अनुगमन तथा निरीक्षणका क्रममा मन्त्री यादवले पाइपलाइन बिच्छाइएको क्षेत्रमा तत्काल पाइप परीक्षण सम्पन्न गरी मेलम्चीको पानी वितरण गर्न मातहतका कर्मचारीहरुलाई निर्देशन दिए ।
बालुवाटारस्थित प्रधानमन्त्री निवास तथा आसपासका क्षेत्रहरूमा मेलम्ची खानेपानी आपूर्ति प्रणालीअन्तर्गत बिच्छाइएको प्राइमरी पाइपलाइन ९३१५ मिमिर २८० मिमि (एचडिइपी) को निर्माण कार्य तेर्सो दिशात्मक ड्रिलिङ्ग (एचडिडि) प्रविधिबाट सफलतापूर्वक सम्पन्न गरिएको र चाँडै मेलम्चीको खानेपानी वितरण गरिने तयारी रहेको अनुगमनमा आफूले जानकारी पाएको मन्त्री यादवले बताए ।