काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दोहोरो राहदानीको मुद्दामा आफूले सरकारी निकायसँग सौदाबाजी नगरेको बताएका छन् । पार्टीले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा सोधिएको प्रश्नको जवाफमा उनले पासपोर्ट मुद्दा मिलाउन सरकारसँग सौदाबाजी नगरेको दाबी गरेका हुन् ।
महान्यायाधिवक्ता दीनमणि पोखरेलले रास्वपा सभापति लामिछानेविरुद्ध राहदानी दुरुपयोगमा मुद्दा नचलाउने निर्णय चैत ६ गते गरेको थियो । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं र उच्च सरकारी वकिल कार्यालयको निर्णयमा टेक्दै अमेरिकी पासपोर्ट र नागरिकता बोकेर नेपाल आएको विषयलाई कसुर मान्न नमिल्ने भन्दै महान्यायाधीवक्ता पोखरेलले मुद्दा नचल्ने निर्णय गरेका थिए ।
उक्त निर्णय प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने दिन गरिएको थियो । निर्णय गर्नुपहिला रास्वपाका संसदीय दलका नेता डीपी अर्यालले महान्यायाधीवक्ता कार्यालयमा गएर भेट गरेका थिए । दाहाललाई रास्वपाले विश्वासको मत दिएको थियो ।सभापति लामिछानेले भने उक्त मुद्दामा सौदाबाजी नगरेको बताएका हुन् ।