उदयपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उदयपुर जिल्ला संयोजक चित्रकुमार कार्कीलाई तोकेको छ । यस्तै जिल्ला सह संयोजकको जिम्मेवारी अनिलकुमार श्रेष्ठले पाएका छन् ।
उनी पार्टीको मनोनीत कोशी प्रदेशसभा सदस्य समेत हुन् । संयोजक कार्की भने पार्टीको आन्तरिक निर्वाचनबाट प्रत्यक्ष चुनिएका प्रदेश सदस्य हुन् । कार्की कोशी प्रदेशसभा सदस्यका लागि आवश्यक ४ पदका लागि सहभागी २६ मध्ये चुनावी प्रक्रियामार्फत आफूलाई सुरक्षित राख्दै जिल्ला नेतृत्वसम्म पुगेका हुन् ।
संयोजकको जिम्मेवारी पाएपछि आफू अत्यन्तै हर्षित भएको कार्कीले प्रतिक्रिया दिए । ‘अब पार्टीको निर्देशित सिद्धान्तलाई शिरोपर गर्दै स्थानीय तहसम्म सङ्गठन बिस्तारको अभियानमा जोड दिनेछु ।’ संयोजक कार्कीले भने, ‘जनताका समस्या बुलन्द रूपमा उठाउन सक्ने र समाधानका लागि ठोस पहल गर्न जनताको प्रतिनिधिमूलक पार्टीको रूपमा उदयपुरमा रास्वपालाई स्थापित गराउनु छ ।’
कार्कीले सन् २०११ मा उल्टो मोटरसाइकल चलाएर मेची–महाकाली यात्रासमेत पूरा गरी विश्व उल्टो मोटरसाइकल यात्रीको रूपमा आफ्नो पहिचान बनाइसकेका छन् । त्यस्तै विभिन्न विधामा गिनिज बुक वर्ल्ड रेकर्डमा समेत आफ्नो नाम दर्ज गरिसकेका छन् । उनी पछिल्लो समय क्षमता भएर पनि ओझेलमा परेका जनशक्तिलाई एक फाउण्डेशनमार्फत सहयोग समेत गर्दै आएका छन् ।