स्थापनाको चारवर्षे कार्यकालमा गण्डकी प्रदेशमा दुई सरकार बनेका छन् ।
प्रदेशको राजधानी र नाम तोक्ने, पञ्चवर्षीय योजनाको आधारपत्र तयार, गण्डकी विश्वविद्यालयसँगै प्रदेश लोकसेवा आयोग गठनसँगै कर्मचारी भर्ना प्रक्रिया सुरु गरेको छ ।
५० वटा कानुन पारितलगायतलाई प्रदेशले मुख्य उपलब्धिका रूपमा लिएको छ । त्यसैगरी प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको, मनाङ र मुस्ताङ जिल्ला कोभिड–१९ विरुद्ध पूर्ण खोपयुक्त जिल्ला भएको, उत्पादकत्व बढाउन जग्गाको चक्लाबन्दी कार्यअन्तर्गत ८ जिल्लाका २५ स्थानमा तीन हजार ९ सय ६७ रोपनी जमिन चक्लाबन्दी गरिएको, प्रदेश प्रमुख शैक्षिक सुधार कार्यक्रम सञ्चालन, वन्यजन्तु उद्धार, उपचार र व्यवस्थापनका लागि वन्यजन्तु एम्बुलेन्सको व्यवस्था, एक स्थानीय तह, एक उद्योगग्रामका लागि पूर्वाधार विकास तथा निर्माण, १० जिल्लाका ४१ वटा सार्वजनिक तथा सामुदायिक पुस्तकालय व्यवस्थापनलगायतका कामलाई प्रदेशले उपलब्धिका रूपमा लिएको छ ।
आफ्नो स्थापनाको चार वर्ष पार गर्दै गण्डकी प्रदेश सरकार बुधबारदेखि पाँचौँ वर्षमा प्रवेश गरेको छ। नयाँ संविधान जारी भएपछि सम्पन्न निर्वाचनपछि ४ फागुन ०७४ मा प्रदेशका तत्कालीन मुख्यमन्त्री पुथ्वीसुब्बा गुरुङले पद तथा गोपनीयताको शपथ लिएको दिनलाई प्रदेश सरकारले वार्षिकोत्सव तथा स्थापना दिवसको रूपमा मनाउँदै आएको छ । सोही दिनको अवसर पारी बुधबार प्रदेशले आफ्नो चौथो वार्षिकोत्सव मनाएको हो ।