नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् ।
कांग्रेस महामन्त्रीको अन्तिम मत परिणामअनुसार गगन कुमार थापा ३०२३ र विश्व प्रकाश शर्मा १९८४ मत ल्याउँदै विजयी भएका हुन् ।
महामन्त्रीका लागि थापा शेखर कोइराला प्यानलबाट र शर्मा प्रकाशमान सिंह प्यानलबाट उम्मेदवार बनेका थिए ।
सभापति शेरबहादुर देउवा प्यानलबाट महामन्त्री बनेका प्रकाशशरण महत र प्रदीप पौडेल पराजय भए । प्रकाश शरण महतले १५५६ र प्रदिप पौडेल १३९३ मत पाए ।
त्यस्तै, कोइराला प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेका रक्षामन्त्री मिनेन्द्र रिजाल ८०९ मत मात्रै पाए । महामन्त्रीमा पराजित भएपछि उनले रक्षामन्त्रीबाट राजीनामा दिइसकेका छन् ।
स्वतन्त्र उम्मेदवारी दिएका राजाराम कार्कीले १०६ मत ल्याए ।
नेपाली कांग्रेस महामन्त्रीकाे मतगणना ४६८२ मा (अन्तिम मतपरिणाम)
गगन कुमार थापा ३०२३
विश्व प्रकाश शर्मा १९८४
प्रकाश शरण महत १५५६
प्रदिप पौडेल १३९३
मिनेन्द्र रिजाल ८०९
राजाराम कार्की १०६
सोमबार भएको मतदानमा ४७४३ मतदातामध्ये ४६७९ मतदाताले मतदान गरेका थिए । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि मतदान भएको थियो ।
प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा सभापतिमा पुनः निर्वाचित भइसकेका छन् भने पूर्णबहादुुर खड्का र धनराज गुरुङ उपसभापतिमा निर्वाचित भइसकेका छन् ।
कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ ।
यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी÷जनजाती १५, खस÷आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यक बाट एक, अपाङ्बाट एक सदस्य गरी कुल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने हालको विधानको व्यवस्था छ ।
यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनित गर्ने विधानमा उल्लेख छ ।