नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो जित कुनै व्यक्ति र गुटको जित नभएको बताएका छन् ।
जितपछि पार्टी कार्यालय सानेपा पुगेका शर्माले सञ्चारकर्मीहरुसँग कुरा गर्दै सो कुरा बताएका हुन् । उनले आफ्नो जितले कांग्रेस रुपान्तरणको यात्रा प्रारम्भ भएको बताए ।
उनले भने, ‘‘यो एउटा व्यक्तिको विजय पनि होइन, गुटको विजय पनि होइन । सिंगो नेपाली कांग्रेसलाई रुपान्तरित गर्ने, नयाँ ढंगले सुरुवात गर्ने यात्राको प्रारम्भ हो ।’
फरक फरक विचार समूहमा रहेका सबै मत प्राप्त गरेर जित्नु सिंगो कांग्रेसलाई सयौं थुंगा फूलका हामी एउटै माला नेपाली भने जस्तै भावनामा गाँस्नु रहेको उनले बताए ।
उनले बाँकी कुरा सुन्दरीजलबाट सुनाउने बताए । उनले अगाडि भने, ‘मैले बोल्नुपर्ने धेरै छ । सुन्दरीजलस्थि बीपी संग्रहालयबाटै विस्तृत कुरा गर्नेछु ।’ उनले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा पनि सुन्दरीजलबाटै गरेका थिए ।