नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । सानेपामा जारी रहेको मतगणना अहिले अन्तिम अवस्थामा पुगेको छ । तर, थापा र शर्माको जित निश्चित भइसकेको हो ।
पछिल्लो अपडेट अनुसार ४३९० मत गणना भइसकेको छ । जसमध्ये थापाले २८२३ मत, शर्माले १८२४ मत र प्रकाशशरण महतले १४५५ मत पाएका छन् ।
अब गणना हुन बाँकी सबै मत महतले पाएको अवस्थामा पनि शर्मालाई रोक्न सक्नेछैनन् । शर्माले महतलाई ३६९ मतले उछिनेका छन् । जबकि, गन्न बाँकी मत केवल २८९ छ ।
नेपाली कांग्रेस महामन्त्रीको ताजा मत परिणामः
४३९० मतगणनामा
गगन कुमार थापा २८२३
विश्व प्रकाश शर्मा १८२४
प्रकाश शरण महत १४५५
प्रदिप पौडेल १३०३
मिनेन्द्र रिजाल ७५३
राजाराम कार्की १००
महामन्त्रीका लागि सभापति शेरबहादुर देउवा प्यानलबाट प्रकाशशरण महत र प्रदीप पौडेल तथा शेखर कोइराला प्यानलबाट गगन थापा र रक्षा मन्त्री समेत रहेका मिनेन्द्र रिजाल प्रतिस्पर्धामा रहेका छन् । त्यस्तै प्रकाशमान सिंह प्यानलबाट विश्वप्रकाश शर्मा उम्मेदवार रहँदा डा राजाराम कार्कीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
सोमबारको मतदानमा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि मतदान भएको थियो ।
हालसम्म सार्वजनिक मतपरिणामअनुसार प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा सभापतिमा पुनः निर्वाचित भइसकेका छन् ।
यसैगरी दुई उपसभापति पदको बुधबार मतगणना सम्पन्न भई पूर्णबहादुुर खड्का र धनराज गुरुङ निर्वाचित भइसकेका छन् ।
कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ ।
यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी÷जनजाती १५, खस÷आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यक बाट एक, अपाङ्बाट एक सदस्य गरी कुल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने हालको विधानको व्यवस्था छ ।
यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनित गर्ने विधानमा उल्लेख छ ।