नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको छ ।
प्रारम्भिक मतपरिणामअनुसार महामन्त्रीमा गगन थापाले अग्रता लिएका छन् ।
नेपाली कांग्रेस महामन्त्रीको ताजा मत परिणामः
१८९५ मतगणनामा
गगनकुमार थापा १२९४
विश्वप्रकाश शर्मा ८२७
प्रदिप पौडेल ६६८
प्रकाशशरण महत ६२०
मिनेन्द्र रिजाल ३२९
राजाराम कार्की ५८
महामन्त्रीका लागि सभापति शेरबहादुर देउवा प्यानलबाट प्रकाशशरण महत र प्रदीप पौडेल तथा शेखर कोइराला प्यानलबाट गगन थापा र रक्षा मन्त्री समेत रहेका मिनेन्द्र रिजाल प्रतिस्पर्धामा रहेका छन् । त्यस्तै प्रकाशमान सिंह प्यानलबाट विश्वप्रकाश शर्मा उम्मेदवार रहँदा डा राजाराम कार्कीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
काँग्रेस केन्द्रीय निर्वाचन समिति सदस्य सिताराम केसीले मतगणना तीन स्थानमा भइरहेको र छ घण्टाभित्र मतपरिणाम आइसक्ने जानकारी दिए ।
सोमबारको मतदानमा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि मतदान भएको थियो ।
हालसम्म सार्वजनिक मतपरिणामअनुसार प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा सभापतिमा पुनः निर्वाचित भइसकेका छन् ।
यसैगरी दुई उपसभापति पदको बुधबार मतगणना सम्पन्न भई पूर्णबहादुुर खड्का र धनराज गुरुङ निर्वाचित भइसकेका छन् ।
कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ ।
यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी÷जनजाती १५, खस÷आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यक बाट एक, अपाङ्बाट एक सदस्य गरी कुल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने हालको विधानको व्यवस्था छ ।
यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनित गर्ने विधानमा उल्लेख छ ।