नेपाली कांग्रेसको जारी महाधिवेशनमा ४६७९ मत खसेको छ । नेतृत्व चयनका लागि भएको निर्बाचनमा काँग्रेसका ४७४४ मतदातामध्ये ४६७९ जनाले मतदान गरेका हुन् ।
बिहान ११ बजेपछि सुरु भएको मतदान राति साढे ११ बजे सम्पन्न भएको हो ।
निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले मुचुल्का उठाउने काम भइरहेको बताएका छन् ।
मुचुल्का उठाएपछि सोमबार राति करीव एक बजेदेखि राष्ट्रिय सभागृहमा मतगणना गर्ने निर्बाचन समितिको तयारी छ ।
निर्वाचन समितिले भृकुटीमण्डप र राष्ट्रिय सभागृहस्थल गरी दुई स्थानमा मतदानको व्यवस्था मिलाएको थियो ।
मतगणना सकिएसँगै निर्वाचन समितिले पहिलो चरणमा सभापतिको मतगणना गर्नेछ । साथै दोस्रो चरणमा क्रमशस् पदाधिकारी र केन्द्रीय सदस्यहरूको मतगणना गर्ने तयारी गरेको छ । सभापतिको मतगणना सोमबार राति नै सुरु गर्ने तयारी छ ।
१४औं महाधिवेशनबाट सभापतिसहित २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्रीसहित १३ पदाधिकारी र १ सय २१ सदस्य निर्वाचित हुनेछन् । यही टिमले आगामी तीन तहका निर्वाचनमा कांग्रेसको नेतृत्व गर्नेछ भने पाँच वर्षसम्म नेपाली राजनीतिलाई प्रभावित गर्नेछ ।
सभापतिका कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेमा शीर्ष दुईबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुनेछ । त्यसैले सिंह र निधि पहिलो चरणलाई अनिर्णीत बनाउन सके दोस्रो चरणमा आफूहरूको भूमिका निर्णायक हुनेमा आशावादी छन् ।