काठमाडौं– कोभिड–१९ को अणुवांशिक (जिन सिक्वेन्सिङ)को अध्ययन सुरु गरिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कोभिड–१९ का १५ जना संक्रमितको नमुना लिएर जिन सिक्वेन्सिङको प्रक्रिया सुरु गरेको हो ।
परिषद्ले नेपाली वैज्ञानिक विज्ञ र अनुसन्धानकर्ताबाट पहिलोपटक निजी प्रयोगशालामा जिन सिक्वेन्सिङ थालिएको परिषद्का कार्यकारी निर्देशक डा. प्रदीप ज्ञवालीले जानकारी दिए ।
अध्ययनबाट नेपालमा पाइएको कोरोना भाइरस कति शक्तिशाली रहेछ भन्ने पत्ता लाग्नेछ । सबै देशले आफ्नो देशमा संक्रमित व्यक्तिमा भएको भाइरस कस्तो छ भनेर जिन सिक्वेन्सी गरिरहेका छन् ।
परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा. मेगनाथ धिमालका अनुसार संक्रमित भएर मृत्यु भएका, संक्रमित भएर निको भएका, लक्षणरहित र सामान्य संक्रमित, बालबालिका, युवा र वृद्धा संक्रमित तथा फरकफरक देशबाट आएका संक्रमतिको नमुना संकलन गरेर जिन सिक्वेन्सिङ गर्न थालिएको हो ।
अध्ययनका लागि परिषद्ले काठमाडौं विश्वविद्यालयसँग सम्झौता गरेर पनि जिन सिक्वेन्सिङका लागि आवश्यक कीट नआएकाले निजी प्रयोगशालाले गरिरहेको
छ । डा. धिमालले भने, ‘विश्वविद्यालयसँग आवश्यक कीट नआएकाले निजीलाई सिक्वेन्सिङको काम दिएका छौं ।’
उनले भने, ‘भाइरस पत्ता लागेपछि कोभिड–१९ विरुद्धको भ्याक्सिन बनेपछि प्रयोग गर्न सकिन्छ ।’ जिन सिक्वेन्सिङले कुन देशबाट आएका मानिसमा कस्ता प्रकारको भाइरसको जिन छ भन्ने पत्ता लाग्छ । जिन पत्ता लगाएपछि कोभिड–१९ को उपचारका लागि आवश्यक भ्याक्सिन र औषधि पत्ता लगाउन सकिनेछ ।–रासस