सोमबार बिहान ७२ जनामा कोरोनाभाइरस सक्रंमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, राैतहट, बारा, झापा लगायत विभिन्न १२ जिल्लाका नागरिकहरुमा नयाँ संक्रमण देखिएकाे हाे ।
आज संक्रमण देखिनेहरुमध्ये सबैभन्दा धेरै राैतहटका २६ जना छन् । यसैगरी बाराका २३, झापाका १५, दैलेखका ७ र बाँकेका ४ जनामा संक्रमण देखिएकाे छ । धनुषा, कपिलवस्तु र काठमाडौंका ३-३ जना, सप्तरीका २ जना तथा धनकुटा, सुनसरी र बर्दियाका १–१ जनामा भाइरसकाे संक्रमण पुष्टि भएकाे छ ।
संक्रमितहरुमध्ये १ जना महिला र बाँकी सबै ७१ जना पुरुष छन् । सबै संक्रमितहरु १८ देखी ५३ वर्ष उमेर समुहका छन्।
मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारीले काठमाडौस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, नेपालगञ्जस्थित भेरी अस्पताल, सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परिक्षणबाट संक्रमण पुष्टि भएको जानकारी दिए ।
साेमबार विहान थपिएका ७२ जनासँगै नेपालमा काेराेना भाइरसबाट संक्रमित हुनेकाे संख्या ६ सय ७५ पुगेकाे छ । जसमध्ये ८७ जना निकाे भएर घर फर्किएका छन् भने ३ जनाकाे निधन भएकाे छ ।