एजेन्सी– कम्प्युटर प्रणालीमा व्यापक रूपमा प्रयाेग हुने ‘कट, कपी र पेस्ट’ कमाण्ड आविष्कार गर्ने कम्प्युटर वैज्ञानिक ल्यारी टेस्लरकाे निधन भएको छ।
जेरेक्स कम्पनीले आफ्नो ट्विटरमार्फत टेस्लरको ७४ वर्षको उमेरमा निधन भएको जानकारी गराएको हाे। सन् १९४५ मा न्युयोर्कमा जन्मिएका उनले आफ्नाे जीवन कालमा मानव र कम्प्युटरबीचको अन्तर्क्रियासम्बन्धी विषयमा महत्वपूर्ण खोज र अनुसन्धान गरेका छन्।
उनले सन् १९६० देखि सिलिकन भ्यालीमा काम गर्न थालेका थिए जतिबेला कम्प्युटर आममानिसको लागि त्यति सजिलो पहुँचको विषय थिएन। उनको आविष्कारले कम्प्युटर प्रयोगकर्तालाई छिटो र सजिलो बनाइदिएको छ।
टेस्लरले जेरोक्स कम्पनीसँग आबद्ध रहेर विभिन्न आविष्कार तथा नवीन विचारहरू अघि सारेका थिए। टेस्लरले सन् १९८० मा एप्पल कम्पनीमा पनि काम गरेका थिए। जहाँ उनले १७ गर्ष बिताएका थिए। स्यान्डफोर्ड युनिभर्सिटीमा अध्ययन गरेका उनले याहु र अमेजनमा समेत काम गरेका थिए।