धनुषा। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारले जनतालाई अधिकार दिने विषयमा कुनै कन्जुस्याइ गर्न नहुने बताएका छन् । जनकपुरधाम उपमहानगरपालिकाले सोमबार राष्ट्रपति पौडेललाई गरेको अभिनन्दन कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।
संविधानले नै संघीयता, गणतन्त्र र लोकतन्त्रलाई कार्यान्वयनमा ल्याउन भनेकाले संघीयताको मर्मअनुसार प्रदेश र स्थानीय तहलाई अधिकार सम्पन्न बनाउन सरकारलाई उनले निर्देशन समेत दिए।राष्ट्रपति पौडेलले राष्ट्रिय एकता र रुपान्तरणमा मधेसको सबल भूमिका रहदैआएको चर्चा गर्नुहुँदै नेपालको राष्ट्रिय एकताको चुरो नै मधेशमा रहेको बताए ।
नेपालको समथर फाँट रहेको अन्नभण्डार मधेस प्रदेशको समग्र विकास, उन्नति, सम्मान र राजकीय सत्तामा समाहित हुने समान अवसरले मात्रै नेपालको समग्र समृद्धि र राष्ट्रि एकता सुदृढ हुने उनले विश्वास व्यक्त गरे ।
सोअघि राष्ट्रपति पौडेलले महेन्द्रनारायण निधि मिथिला सँस्कृति केन्द्रको नवनिर्मित भवनको उद्घाटन गरे । राष्ट्रपति पौडेलले आज विश्वका हिन्दुहरुको आस्थाको केन्द्र जनकपुरधामको जानकी मन्दिरमा बिहान विशेष पूजाअर्चना गरी प्रसाद ग्रहण समेत गरेका थिए ।