काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डपथ देशलाई अन्धकार र भड्खालोमा लाने पथ भएको टिप्पणी गरेका छन्।
शुक्रबार एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेको एमाले अध्यक्ष ओलीले प्रचण्डपथ देशलाई अन्धकार र भड्खालोमा लाने पथ रहेको टिप्पणी गरेका हुन्।
सबै राम्रा चलेका बेला प्रचण्डले जनयुद्ध गरेर मान्छे मारेको आरोप लगाएका ओलीले भने, ‘यस्तो अपराध प्रचण्डबुद्धिले मात्रै गर्न सक्छ।’
उनले माओवादीले किन हतियार उठायो भनेर जनयुद्धदेखि नै प्रश्न गर्दै आएको अहिलेसम्म चित्तबुझ्दो जवाफ नपाएको बताए। ओलीले माओवादी जनयुद्धले निहत्था मान्छेको हत्या र राज्यको अर्बौ क्षति पुर्याउँनुबाहेक कुनै पनि औचित्य पुष्टि गर्न नसकेको बताए।
उनले भने, ‘माओवादीले के का लागि हतियार उठाएको थियो? आजसम्म उसले जवाफ दिएको छैन। आजको प्रश्न सुनेर भोलि पर्सी प्रचण्डले जवाफ दिए हुन्छ। महान जनयुद्ध उनीहरुले के पाएर छाडे? बहुदलीय व्यवस्था र विघटित संसदको पुनःस्थापनाको लागि १७ हजार मान्छे मारेको हो? फास्ट ट्र्याकबाट सत्तामा जानेबाहेक अरु कुनै उद्देश्य थिएन।’
उनले वर्तमान सरकारको काम नभएको र अबिलम्ब हट्नुपर्ने बताए। सरकारले साँचो लिएर ढोकाबाटै वैधानिक ढंगले देश लुटेको आरोप लगाए। उनले सरकारलाई नराम्रोहरुको थुप्रोको संज्ञा दिए।
ओलीले भने, ‘अब अति भयो। अतिबाट पनि अति भयो। अब यो सरकार स्वीकार्य हुन सक्दैन। यो सरकारको काम छैन अबिलम्ब हट्नुपर्दछ। लाज नभएका व्यक्तिहरु त्यही अनुहार देखाएर ठिङ ठिङ बाटोमा हिंडिरहेका छन्।’