काठमाडौं– निषेध आदेशको समयमा अत्यावश्यक वस्तु तथा सेवाको होम डेलिभरी गर्न ‘अत्यावश्यक वस्तु तथा सेवा होम डेलिभरी गर्नेसम्बन्धी मापदण्ड, २०७७’ जारी गरिएको छ । होम डेलिभरी सेवालाई व्यवस्थित बनाउन र नियमन गर्न मापदण्ड बनाइएको हो ।
होम डेलिभरी गर्दा विभिन्न सर्त पालना गर्नुपर्ने व्यवस्था गरिएको छ ।
मापदण्डअनुसार होम डेलिभरी सेवा दिने संस्था नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता भएको र नियमित नवीकरण गरेको हुनुपर्नेछ । साथै संस्था दर्ताको प्रमाणपत्रको प्रतिलिपि अनिवार्य रूपमा साथमा राखेको हुनुपर्नेछ ।
सेवा प्रदायक संस्थाको अनलाइन साइटमा सबै वस्तु/सेवाको मूल्य अनिवार्य खुलाउन भनिएको छ । अनलाइन साइटमै वस्तु/सेवा डेलिभरी गर्ने संस्था र व्यक्तिको नाम, सम्पर्क नम्बर स्पष्ट खुलाउनुपर्नेछ ।
त्यस्तै, होम डेलिभरी गर्दा नेपाल सरकारले तोकेको जनस्वास्थ्य र सुरक्षाका मापदण्ड र प्रोटोकलको पालना गर्नुपर्नेछ । मापदण्डमा सेवाग्राहीसँग कम्तीमा दुई मिटरको भौतिक दुरी कायम गरेर सेवा/वस्तु होम डेलिभरी गर्न भनिएको छ ।
मापदण्डमा उल्लेख छ, ‘सेवा÷वस्तु प्रदायकले अनिवार्य रूपमा मास्कको प्रयोग गर्ने, साबुनपानीले नियमित हात धुने वा स्यानिटाइजरले हात सफा गर्नुपर्नेछ ।’
मापदण्डअनुसार दिउँसो १ बजेदेखि बेलुका ७ बजेसम्म मात्र होम डेलिभरी सेवा दिन पाइनेछ । सेवा दिन व्यक्तिको पिसिआर रिपोर्ट नेगेटिभ भएको हुनुपर्नेछ ।
त्यस्तै, डेलिभरी गर्ने संस्थाले अनिवार्य रूपमा डेलिभरी गर्ने व्यक्तिको नाम, सम्पर्क नम्बर तथा डेलिभरी कार्यमा प्रयोग हुने सवारी साधनहरुको विवरण जिल्ला प्रशासन कार्यालय, वाणिज्य आपूर्ति ताथ उपभोक्ता संरक्षण विभाग र ट्राफिक कार्यालयमा उपलब्ध गराउनुपर्नेछ । चार पांग्रे सवारीमा बढीमा दुई जना र दुईपांग्रे सवारीमा एक जना मात्र हुनुपर्ने व्यवस्था गरिएको छ ।
मापदण्डमा होम डेलिभरी गर्दा डेलिभरी लिने व्यक्तिसमेतको नाम, थर, ठेगाना र मोबाइलसम्बन्धी जानकारी राख्न भनिएको छ ।
डेलिभरी गर्न पाइने वस्तु/सेवा
मापदण्डअनुसार खाना, चिनी, खाने तेल, तरकारी, पानी, फलफूल, खाजा, अन्डा, माछामासु, दूध, चिया कफीलगायतका खाद्य वस्तुको होम डेलिभरी गर्न पाइनेछ । त्यस्तै, औषधी र औषधिजन्य उत्पादनहरू एलोपेथिक होमोपेथिक र आयुर्वेदिक औषधि पनि होम डेलिभरी गर्न पाइनेछ ।
त्यस्तै, बच्चाले प्रयोग गर्ने उत्पादनको होम डेलिभरी गर्न छुट दिइएको छ । डेलिभरी गर्न पाइने वस्तु तथा सेवामा मातृस्वास्थ्य स्याहारजन्य उत्पादन, छाला, कपाल सुरुक्षा र उपचारसम्बन्धी उत्पादन, व्यक्तिगत सररफाइसम्बन्धी उत्पादन, घरपालुवा जनावरको स्याहारसम्बन्धी उत्पादन रहेका छन् ।
त्यस्तै, निषेधाज्ञा अवधिमा सानिटेसन उपकरण, कृषिजन्य बिउ बिजन, उपकरण र औषधिसमेत होम डेलिभरी गर्न पाइनेछ ।
डेलिभरी गर्न प्रतिबन्धित क्षेत्र
मापदण्डअनुसार केही क्षेत्रमा होम डेलिभरी गर्न पाइनेछैन । नेपाल सरकारले तोकेको निषेधित क्षेत्रमा वस्तु/सेवाको होम डेलिभरी गर्न रोक लगाइएको छ । त्यस्तै, कोरोना संक्रमित क्षेत्रमा पनि यस्तो सेवा दिन निषेध गरिएको छ ।
होम डेलिभरी सेवाको अनुगमन भने स्थानीय प्रशासन तथा कुनै निकार्यमार्फत गरिनेछ ।
मापदण्ड पढ्नुहाेस् :

