काठमाडौं– जाडो मौसममा धेरै चिसो हुने भएकाले नवजात शिशु र सुत्केरी आमा दुवैका लागि जोखिम हुनसक्छ। शिशुको राम्रो हेरविचार गरिएन भने छिटो संक्रमण हुनसक्छ। मौसम परिवर्तनको असर उनीहरुलाई धेरै हुन्छ, शिशुलाई जति नै कपडा लगाइदिएपनि चिसो हुन्छ। र रोगसँग लड्ने क्षमता कमजोर हुन्छ।
चिसो मौसममा बच्चाहरुलाई रुघाखोकी र घाँटीमा संक्रमण हुने खतरा बढी हुन्छ। चिसो बढी भएमा बच्चा बिरामी पनि पर्न सक्छ। बच्चाको सास फेर्ने नली साँघुरिन्छ, र खकार जमेर सास लिनमा कठिनाई हुन सक्छ। त्यसैले चिसोबाट बच्न न्यायो कपडा लगाएर तातो बनाई राख्नुपर्छ।
नवजात शिशुलाई चिसोबाट कसरी जोगाउने– नवजात शिशुलाई दिनै नुहाउनुको सट्टा मनतातो पानीमा सफ्ट एन्टिब्याक्टेरियल लिक्वीड हालेर नरम कपडा भिजाएर पुछ्नुपर्छ, धुलो, धुँवादेखि नवजात शिशुलाई टाढा राख्नुपर्छ, धुलो, धुँवाले नवजात शिशुलाई दमको समस्या हुने, झाडापखला लाग्ने हुनसक्छ। त्यसैले घर वरपरको वातावरणमा पनि विशेष ध्यान दिनुपर्छ।
मौसम बदल्ने वित्तिकै शिशुलाई न्यानो कपडा लगाइदिनु पर्छ। हल्का चिसो छ भनेर वेवास्ता गर्नु हुँदैन। शिशुलाई जहिले पनि मोजा टोपी लगाइदिनुपर्छ, शिशुलाई मसाज एकदमै जरुरी हुन्छ। मसाज गर्दा तेललाई मनतातो बनाएर प्रयोग गर्ने गर्नुहोस्, शिशुलाई न्यानो कपडा लगाइदिएर घाममा राख्नुपर्छ।बिहानको घाममा राख्दा ताजा हावाको साथै भिटामिन–डी पनि प्राप्त हुन्छ। शिशु ६ महिना भन्दा बढी भएको छ भने खाना पनि खान्छ।
खाना खुवाँउदा चिसो र बासी खाना खुवाउनु हुँदैन, स्वेटर लगाउँदा राम्रो क्वालिटिको मात्र लगाइदिने गर्नुपर्छ। जस्तो पायो त्यस्तै क्वालिटिको कपडाले शिशुलाई एलर्जी हुनसक्छ, नवजात शिशुको छाला एकदमै संवेदनशिल हुन्छ। त्यसैले संक्रमण हुने खतरा बढी हुन्छ। त्यसकारण शिशुलाई समाउन अघि साबुन पानीले राम्रोसँग धुनुपर्छ, शिशुलाई आमाको दुध अघाउन्जेल खुवाउनुपर्छ, आमाको दुधमा रोगसँग लड्न सक्ने क्षमता हुन्छ।