काठमाडौँ । मधेश प्रदेशको मुख्यमन्त्री नियुक्तिविरुद्ध ७४ जना सांसद सर्वोच्च अदालत पुगेका छन् । मंगलबार नेकपा (एमाले) बाहेकका ७४ जना सांसद रिट दायरका लागि सर्वोच्च अदालत पुगेका हुन् ।
संविधानको धारा १६८ को उपधारा ३ बमोजिम गठन भएको सरकारविरुद्ध मधेश प्रदेश सभाका एमाले बाहेकका सबै दलले ७४ प्रदेश सांसदको हस्ताक्षरसहित सर्वोच्चमा रिट दायर गरेको हो । उक्त रिट निवेदनको पेसी बुधबारलाई तोकिएको छ । नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादव, जसपा नेपालका संसदीय दलका नेता सरोजकुमार यादव, माओवादी केन्द्र संसदीय दलका उपनेता युवराज भट्टराई, लोसपा संसदीय दलका नेता जयलुन राइन्सहितका नेताहरु सर्वोच्च पुगेर रिट दायर गरेका छन् ।
गत आइतबार दलहरुलाई छलेर संविधानको धारा १६८ को ३ बमोजिम प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले ठूलो दलको हैसियतले नेकपा एकाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । मुख्यमन्त्री नियुक्त गरेको भन्दै चौतर्फी विरोध भएपछि सुमित्रा सुवेदीपनि पदमुक्त बनेकी छिन् ।