काठमाडौं– त्रिभुवन विश्वविद्यालय र बेलायतको किङ्गस कलेजले उद्धार गरिएका बाल मजदूरमा कुनै न कुनै किसिमको मानसिक स्वास्थ्य सम्बन्धी समस्या रहेको अध्ययनमा सो तथ्य फेला पारेको छ।
सो अध्ययनमा बाल मजदूरलाई उद्धार गरी पुनः स्थापना कार्य गर्दै आएका उपत्यकाभित्रका आठवटा संस्थाका १०३ बालबालिका माथि अध्ययन गरिएको थियो।
अध्ययन प्रतिवेदन सार्वजनिक गर्न आयोजित कार्यक्रममा त्रिचन्द्र क्याम्पसको मनोविज्ञान विभागका प्रमुख डा. नारायणप्रसाद शर्माले त्यस्ता बालबालिकाले कुनै न कुनै किसिमको दुर्वयवहार भोगेको पाइएको बताए। उनले भने ‘ती बालबालिकाको ध्यानमा विचलन देखिएको छ।’
उद्धार गरिएकामध्ये ६२ प्रतिशत बालबालिकाले तीनभन्दा बढी प्रकारका दुर्वयवहार भोगेको अध्ययनले देखाएको छ। त्यस्ता बालबालिकाले शारीरिक, यौन, भावनात्मक, वेवास्ता लगायतका दुव्र्यवहार भोग्नुपरेको थियो। अध्ययनमा १२ देखि १८ वर्ष उमेर समूहलाई सहभागी गराइएको थियो।
त्रिभुवन विश्वविद्यालयको मनोविज्ञान केन्द्रीय विभाग कीर्तिपुरका उपप्राध्यापक सन्देश ढकालले अध्ययनले ९.७ प्रतिशतमा सधैभरि डर लाग्ने लक्षण, २७.२ प्रतिशतमा नजिकका व्यक्तिसँग छुट्टिनुपर्ने डर, २५.२ प्रतिशतमा आत्तिने डर देखिएको जानकारी दिए। उनले उद्धार गरिएकामध्ये ६.८ प्रतिशत बालबालिकामा कडा खालको डिप्रेसन र १२.६ प्रतिशतमा कम खालको डिप्रेसन समेत देखिएको बताए।
‘यस्ता मानसिक समस्या पालेर बस्दा त्यसले डरलाग्दो रुप लिन सक्दछ। त्यसैले जतिछिटो उनीहरुको समस्या पहिचान गरी उपचार गर्नै पर्दछ’ उनले भने, ‘केही बालबालिकामा कम्प्युटरमा आधारित विधि प्रयोग गरेर उपचार सुरु गरेका छौँ।
त्यो विधि सफल भएमा अन्य बालबालिकालाई पनि काम लाग्न सक्दछ।’ भारत र नेपालका बाल मजदुरमाथि गरिने किङ्गस कलेज लण्डनका सहप्राध्यापक जेनिफर एफ लाउले दुव्र्यवहार समान रहेको बताए।