काठमाडौं– मधुमेह लाई सामान्य बोलिचालीका भाषामा चिनी रोग भन्ने गरिन्छ। यो रोग रगतमा ग्लुकोजको मात्रा बढी भएपछि लाग्ने गर्छ। हाम्रो शरीरमा प्यांक्रियाज नामक ग्रन्थीबाट उत्पादन हुने इन्सुलिन हर्मोनको उत्पादन अनियमितता हुँदा मधुमेह रोग लाग्ने गर्छ।
सुरुवाती अवस्थामा सामान्य लाग्ने यो रोगले विस्तारै मानिसलाई कमजोर बनाउँदै लैजान्छ। शरीरका धेरै प्रणालीहरू, विशेष गरी स्नायु र रक्तबाहिकाहरूलाई गम्भीर क्षति र्पुयाउँने चिकित्सकहरु बताउँछन्। रगतमा चिनीलाई नियन्त्रण गर्नको लागि जब इन्सुलिन हर्मोनको उत्पादनमा अनियमितता आउँछ त्यसले हाइपरग्लाइकेमिया वा बढेको रगतमा चिनी, अनियंत्रित भएपछि व्यक्ति मधुमेह पीडित बन्छ।
मधुमेहको जोखिम कस्तो अवस्थामा हुन्छः
– शारीरिक तौल ज्यादा वा कम्मरको परिधि (पुरुष ३५.५ इन्ज, महिला ३१.५ इन्चभन्दा बढी भएमा, परिवारका कुनै सदस्य वा नजिकका नातेदारमा मधुमेह भएमा, उच्च रक्तचाप भएको वा पहिले हृदयाघात वा मस्तिष्काघात भइसकेको भएमा।
– महिलाको पाठेघरमा धेरै सिस्टहरू भएको खण्डमा, गर्भवती हुँदा गर्भावस्थाको मधुमेह भएको भएमा र कडाखाले मानसिक स्वास्थ्य समस्या निरन्तर भएको अवस्थामा।
मधुमेहका मुख्य लक्षणः
– बढी तिर्खा लाग्ने, राति बढी मात्रामा पिसाब लाग्ने, ज्यादै थाकेको महसुस हुने, अचानक शारीरिक तौल घट्ने, गुप्तांग चिलाउने वा बारम्बार कीटाणुको संक्रमण भइरहने, घाउ–खटिराहरू चाँडै निको नहुने, दृष्टि धमिलो हुने, आदि।
मधुमेहका बिरामीमा पर्न सक्ने जटिलताः मुटुरोग, मस्तिष्काघात, स्नायुप्रणालीमा क्षति, मिर्गौलामा क्षति, आँखाको विशेषतः रेटिनामा क्षति।
मधुमेह थाहा पाउन के परीक्षण गर्नेः
पिसाबको जाँच– पिसाबमा माइक्रो अल्बुमिन र पिसाबको रुटिन जाँच गराउँदा मिर्गौलामा कुनै संक्रमण भए–नभएको समयमै पत्ता लगाउन सजिलो हुन्छ।
रगत जाँच– मधुमेह थाहा पाउन रगतको जाँच गर्नुपर्छ। यो जाँचमा रगतमा भएको चिनीको मात्रा (खालीपेटमा र खाना खाएको २ घण्टापछि) हेर्नुपर्छ। बिरामी यदि गर्भवती भएमा खाना खाएको १ घण्टापछि हेर्न सकिन्छ। त्यसरी नै कम्तीमा वर्षको एकपटक कोलेस्टेरोल, किड्नी, लिभर र थाइराइडका जाँच गराउनुपर्छ।
अन्य जाँचहरू– मुटुको कार्यक्षमता तथा अवस्था थाहा पाउन इसिजी र इको जाँचका साथै आँखाको रेटिना जाँच गराउनु मधुमेहका बिरामीका लागि अत्यन्तै आवश्यक हुन्छ।