सिउल — अमेरिकासँग वार्ता गर्न तयार रहेको भनेको केही घण्टामा नै उत्तर कोरियाले बुधबार मिसाइल प्रक्षेपण गरेको छ।
दक्षिण कोरियाका अधिकारीहरुले जनाए अनुसार उत्तर कोरियाले प्रक्षेपण गरेको मिसाइल ओन्सन बन्दरगाह नजिकैबाट ९१० किमीको दूरी पार गर्दै जापानी समुद्रमा पुगेको थियो।
जापानका प्रधानमन्त्री शिन्जो अबेले उत्तर कोरियाको यो काम संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को संकल्प प्रस्तावको उल्लंघन हो। सो प्रस्तावमा उत्तर कोरियालाई बलिस्टिक मिसाइल प्रयोगमा रोक लगाइएको छ।
यो मिसाइल प्रक्षेपण गर्नुअघि उत्तर कोरियाले यो हप्ताको अन्त्यमा अमेरिकासँग वार्ता सुरु हुने संकेत गरेको थियो। गएको फेब्रुवरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जङ्ग उनबीच बिना कुनै सहमति भियतनामको हनोईमा वार्ता टुंगिएको थियो। उत्तर कोरियाको यो प्रक्षेपण केही महिनाकै अन्तरमा ११औं पटक गरिएको हो। (बीबीसी)