एजेन्सी– चन्द्रमाको सतहमा अवतरण गर्ने क्रममा सम्पर्क टुटेको विक्रम–ल्याण्डरसँग सम्पर्क स्थापित गर्ने समय सकिएको छ।विक्रम–ल्याण्डर र त्यसमा रहेको प्रज्ञान रोभरको समय १४ दिन मात्र थियो। शनिबार विक्रम–ल्याण्डर चन्द्रमाको धरातलमा अवतरणका क्रममा सम्पर्क विच्छेद भएको १४ दिन पुगेको छ।
प्रज्ञान नामको रोभर बोकेको विक्रम ल्याण्डर सेप्टेम्बर ७ मा चन्द्रमाको सतहभन्दा २.१ किमि माथि सम्पर्क विच्छेद भएको थियो। विक्रम ल्याण्डरलाई भारतको महत्त्वकांक्षी चन्द्रयान–२ अभियानले चन्द्रमाको कक्षमा पुर्याएको थियो।
सम्पर्क टुटेदेखि नै उक्त ल्याण्डर पठाएको भारतीय अतरिक्ष अनुसन्धान संगठन(इसरो)ले त्योसँग सम्पर्क पुनःस्थापित गर्ने प्रयास गरिरहेका थिए। तथापि शनिबार यसको समय सकिनेछ। सम्पर्क टुटेको भोलिपल्ट इसरोले ल्याण्डरलाई चन्द्रमा सतहमा देखेको सार्वजनिक गर्यो। चन्द्रयान–२ को अर्विटरमा रहेको क्यामेराले ल्याण्डरलाई देखाएको थियो।
ल्याण्डर तस्विरमा सग्लो, नटुक्रिएको र केही ढल्किएको अवस्थामा देखिएकाले इसरो अधिकारीहरुले त्यसमा पुनःसम्पर्क हुने सम्भावना व्यक्त गरेका थिए। तर ल्याण्डरलाई सुचारु राख्ने व्याट्रीको उर्जा सकिएकाले अब त्यसको सम्भावना अन्त्य भएको छ।
अमेरिका, रुस र चीनले मानव निर्मित यान ओराल्न सफल भइसकेका छन् र भारत पनि विक्रम–ल्याण्डरलाई चन्द्रमा सफलतापूर्वक अवतरण गराएर उक्त अभियान सफल पार्ने चौथो राष्ट्र बन्न चाहान्थ्यो।