एजेन्सी- चन्द्रमामा अवतरण गर्नुभन्दा केही समय अगाडि भारतको चन्द्रयान–२ सँगकाे सम्पर्क टुटेको छ। चन्द्रयान अवतरणको दृष्यावलोकन गर्न भारतीय अन्तरीक्ष अनुसन्धान संगठन (इसरो) को मुख्यालय पुगेका प्रधानमन्त्री नरेन्द्र मोदी पनि निराश हुँदै फर्किएका छन्।
इसरोका अध्यक्ष के.सिवनले चन्द्रमा नजिकै पुगेको बेला सम्पर्क टुटेको बताएका छन्। उनले भनेका छन, ‘चन्द्रमाको सतहभन्दा २.१ किलोमिटरसम्म सबै सामान्य थियो, तर त्यसपछि सम्पर्क टुट्यो। अब डाटाको समीक्षा गरिँदै छ ।’
चन्द्रयान–२ को विक्रम ल्याण्डर गएराति साढे १ बजेदेखि साढे २ बजेको बीचमा चन्द्रमामा अवतरण गर्ने बताइएको थियो। भारतीय अन्तरीक्ष वैज्ञानिकको उपलब्धी हेर्न र बैज्ञानिकहरुको हौसला बढाउन प्रधानमन्त्री नरेन्द्र मोदी पनि बैंगलुरुमा अवस्थित इसरोको मुख्यालय गएका थिए। जब इसरोका अध्यक्षले प्रधानमन्त्री मोदीलाई सम्पर्क टुटेको जानकारी गराए, तब मोदीले उनको काँधमा हात राख्दै सान्त्वना दिएका थिए।
एक हप्तासम्म प्राविधिक कारणले स्थगित गरिएको चन्द्रयानलाई भारतले गत साउन ६ गते अन्तरिक्षमा पठाएको थियो।भारतको पहिलो चन्द्र अभियान चन्द्रयान १ पनि चन्द्रमा अवतरण गर्न सकेको थिएन। तर त्यसबेला चन्द्रमाको सतहमा विस्तृतरुपमा पानीको खोजी अघि बढाएको बताइन्छ।चन्द्रयान–२ ले चन्द्रमाको सतहमा पानी र खनिजको खोज गर्नका साथै चन्द्रमामा गएका कम्पनको मापन पनि गर्ने भनिएको थियो।