एजेन्सी– अमेरिकी अन्तरिक्ष निकाय (नासा) ले सन् २०२० मा पर्यटकका लागि अन्तर्राष्ट्रिय स्पेश स्टेशन खुला गर्ने भएको छ। पर्यटकका लागि खुला गरिएको नासाको अन्तर्राष्ट्रिय स्टेशनमा बस्ने एक पर्यटकका लागि एक रातको शुल्क मात्रै ३५ हजार डलर ताेकिएकाे छ। नासाका अनुसार निजी अन्तरिक्ष यात्रीले अमेरिकाको स्पेशक्राफ्टमार्फत ३० दिनसम्मका लागि अन्तर्राष्ट्रिय स्पेश स्टेशनको यात्रा गर्न पाउनेछन्।
‘अन्तर्राष्ट्रिय स्पेश स्टेशन पर्यटन तथा व्यापारिक प्रयोजनका लागि खोलिनेछ र यो अवसरको बजारीकरण गरिनेछ, जुन यसभन्दा अघि कहिल्यै भएको छैन’, नासाका आर्थिक मामिला प्रमुख जेफ डिविटले भने। नासाले यसभन्दा अघि व्यापारिक प्रयोजनका लागि स्पेश स्टेशनको प्रयोगमा रोक लगाएको थियो।
यसभन्दा अघि सन् २००१ मा अमेरिकी व्यापारी डेनिस टिटो रसियाको स्पेशक्राफ्टमार्फत स्पेश स्टेशनमा गएका थिए। उनले स्पेश स्टेशनमा एक फन्को घुम्न रसियालाई २० मिलियन डलर दिएका थिए। अन्तर्राष्ट्रिय स्पेश स्टेशन बाहिर अन्तरिक्षमा रहेको छ। यो पृथ्वीको नजिकै रहेको कक्षमा स्थापना गरिएको छ।
https://twitter.com/NASA/status/1137000745922957313
यो स्पेश स्टेशन एक प्रकारको कृत्रिम उपग्रह हो जहाँ मानिस बस्छन्, काम गर्छन् र धेरै प्रकारका प्रयोगहरु गर्ने गर्दछन्। यस्तै नासाले प्राइभेट कम्पनीले को–को त्यहाँ जाने भनेर छनोट गर्नेछ भने उनीहरूको अन्तरिक्ष उडानका लागि तालिम तथा स्वास्थ्य सेवाका लागि परीक्षासमेत लिइनेछ।
प्रत्येक वर्ष १२ निजी अन्तरिक्ष यात्री जान पाउनेछन्। नासाले यसका लागि दुई कम्पनीलाई नियुक्त गरेको छ। इलोन मस्कको स्पेश एक्स तथा बोइङ। स्पेश एक्स आफ्नो ड्रेगन क्याप्सुलको प्रयोग गर्नेछन् भने बोइङले स्टारलाइनर नामक स्पेशक्राफ्ट बनाइरहेको छ। (स्राेत : एजेन्सी)