काठमाडौँ – सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को पछिल्लो ‘डेस्टिनेसन’ र ‘एम्बिसन’ बनेको छ, चितवनको भरतपुर। धुर्मुससुन्तली फाउन्डेसनले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको थालनी गरिसकेको छ। यसका लागि आर्थिक सहायता जुटाउन र निर्माणको काम अघि बढाउनका लागि धुर्मुससुन्तली अहोरात्र खटिरहेका छन्।
सामाजिक रूपान्तरणका लागि नवीनतम् सोच, दीर्घकालीन लक्ष्य र उदार हृदय चाहिन्छ। कलाकारिता क्षेत्रबाट सामाजिक सेवाको क्षेत्रमा प्रवेश गरेका धुर्मुससुन्तली पनि यही सोचबाट प्रेरित छन्। उनीहरूले राज्यले गर्नुपर्ने कामका लागि देशविदेश घुम्दै, आर्थिक स्रोत जुटाउँदै निर्माणमा लगाउँदै आएका छन्। भरतपुरमा निर्माण प्रारम्भ गरिएको रंगशाला धुर्मुससुन्तलीको सामाजिक अभियानकै निरन्तरता हो।
गत माघ १६ गते फाउन्डेसन र भरतपुर महानगरपालिकाबीच जमिन प्राप्तिसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएपछि रंगशाला निर्माणले औपचारिक रूपमा गति लिएको हो। क्रिकेट रंगशाला बनाउन भरतपुर महानगरपालिकाले त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको भरतपुर–१६ को जग्गा फाउन्डेसनलाई उपलब्ध गराएको छ। अचेल धुर्मुससुन्तलीको दैनिकी त्यहीँ केन्द्रित छ।
२० बिगाह ८ कठ्ठा क्षेत्रफलमा बन्ने रंगशालाको गुरुयोजना तयार गरिएको र २ वर्षभित्र निर्माण गरी महानगरलाई हस्तान्तरण गरिने फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल बताउँछन्। ‘अन्तर्राष्ट्रिय रंगशाला निर्माणको लागत ३ अर्ब रुपैयाँ अनुमान गरिएको छ,’ अध्यक्ष कट्टेलले बानेश्वरस्थित फाउन्डेसनको कार्यालयमा नेपाली पब्लिकसँगको कुराकानीमा भने।
जहाँ प्रताडना, त्यहाँ धुर्मुससुन्तली
बारा–पर्सामा चैत १७ गते साँझ भीषण हावाहुरी आयो। जसमा २७ जनाले ज्यान गुमाए। ६ सयभन्दा धेरै सर्वसाधारण घाइते भए। कयौँ घरवारविहीन भएर त्रिपालमुनि आइपुगे। सरकार र अरू सामाजिक संस्थाभन्दा पहिल्यै धुर्मुससुन्तली फाउन्डेसन राहतका लागि पुग्यो। ‘आपतकालीन अवस्थामा योजनाभन्दा पनि उद्धारकार्य बढी महत्त्वपूर्ण हुन्छ,’ कुञ्जनाले भनिन्, ‘विपदमा सेवा गर्नु हाम्रो दायित्व हो।’
सीताराम कट्टेल र कुञ्जना घिमिरेको सामाजिक जीवनको यात्रा व्यक्तिगत तवरबाटै शुरु भएको थियो। काम गर्दै जाँदा पाएको हौसला र आमनागरिकको विश्वासले उनीहरूलाई धुर्मुससुन्तली फाउन्डेसन स्थापना गरी सामाजिक कार्यमा जुट्न प्रेरणा मिल्यो। संयोग नै मान्नुपर्छ, २०७२ सालमा भूकम्प गयो, कलाक्षेत्रका ख्यातिप्राप्त धुर्मुससुन्तली दम्पती राहत र पुनःनिर्माणमा लागे। उनीहरूले बस्ती निर्माण गरे। ‘कुनै काम योजनाबद्ध रूपमा गर्ने भनेर गरिएको होइन, विपद् आयो, हामी जुट्यौँ, हाम्रो साथमा सारा नेपाली दाजुभाइ दिदीबहिनी पनि उभिदिनुभयो,’ कुञ्जना भन्छिन्, ‘विपद् व्यवस्थापन यसरी नै भयो।’
केही आलोचना र धेरै सहयोगका बीचबाट धुर्मुससुन्तली फाउन्डेसनको अभियान अघि बढिरहेको छ। रंगशाला निर्माण गर्नकै लागि भनेर उनीहरूले माघ अन्तिम साता खाडीसहित विभिन्न मुलुकमा कार्यक्रम आयोजना गरे। काम गर्न गएका नेपालीले धुर्मुससुन्तलीको अभियानप्रति शुभेच्छा मात्रै प्रकट गरेनन्, सकेसम्मको आर्थिक सहायता प्रदान गरे। ‘हामीले शुरुआत मात्रै गरेका हौँ, यो तीन करोड नेपालीको अवधारणा हो, त्यसैले हरेक नेपालीले सहयोग गरिरहनुभएको छ,’ फाउण्डेसनका अध्यक्ष कट्टेलले भने।
दुई वर्षमा रंगशाला निर्माण गर्न प्रतिबद्ध
चितवनको भरतपुरमा निर्माण हुने गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला फाउन्डेसनको महत्त्वाकांक्षी लक्ष्य रहेको स्वीकार्छन् कलाकार एवं सामाजिक अभियन्ता कट्टेल। तर, २ वर्षभित्रै रंगशाला निर्माण सम्पन्न गर्ने दृढता उनी व्यक्त गर्छन्। ‘कठिन छ, तर असम्भव छैन,’ उनी भन्छन्, ‘रंगशाला निर्माणका लागि सहयोग उपलब्ध भइरहेको छ, कुनै किसिमको प्राकृतिक विपत्ति नआएमा हामी निर्धारित समयमा रंगशाला निर्माण गरेर महानगरलाई सुम्पिने छौँ।’
धुर्मुससुन्तलीले क्रिकेट रंगशाला निर्माण गर्नुअघि नेपालमै अन्तर्राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता आयोजना गर्न सक्ने स्थितिमा पुर्याउन के गर्न सकिन्छ भन्नेबारेमा छलफल गरे। संयोग नै मान्नुपर्छ, नेपालले एकदिवसीय क्रिकेट खेल्ने राष्ट्रको मान्यता पायो। भर्खरै बस्ती हस्तान्तरण गरी फर्किएका सीताराम र कुञ्जनाको नजर भौतिक संरचनाविहीन नेपाली क्रिकेटमाथि पर्यो। र, केही अध्ययनपछि उनीहरू निष्कर्षमा पुगे– नेपालमा एउटा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण गर्नैपर्छ। ‘त्यसपछि गुरुयोजना बनाएर काम शुरु गरेका हौँ,’ कट्टेल भन्छन्, ‘यो आँट सारा नेपालीको हौसलाले नै आएको हो।’
रंगशाला निर्माणका लागि आर्थिक संकलन गर्न चैत २३ गते मातृभूमि कप क्रिकेट प्रतियोगिता आयोजना गरियो। टिकट विक्रीबाट संकलित रकम गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणमा खर्च गरिने छ।
केही दिनअघि रंगशालाको विषयमा भएको वादविवाद र टिकाटिप्पणीको विषयमा फाउण्डेसनका अध्यक्ष कट्टेलले भने, ‘नहुनु थियो त्यो भयो। अब त्यसमा पछुतो गरेर, घटनालाई गिजोलेर समय व्यतीत गर्नुभन्दा आगामी दिनमा यसरी कसैको पसिनाको अपमान हुने र अरु कसैको नोक्सानी हुने काममा नलागिदिन र अभियानको अभियन्ता बनिदिनु हुन पनि हामी सम्पूर्णमा आह्वान गर्दछौँ।’ उनले भने, ‘केही व्यक्तिहरूको अगुवाइमा रंगशालाको घेराबारामा डोजर लगाइ गरिएको भौतिक क्षतिप्रति हामी पुनः दुःख व्यक्त गर्दछौँ।’
वीर अस्पताललाई नयाँ रूप
वीर अस्पताल नेपाली चिकित्सा क्षेत्रको इतिहासमा सबैभन्दा पुरानो अस्पताल हो। १९४६ साल साउनमा वीरशमशेर राणाद्वारा स्थापित अस्पतालको सफाइका लागि धुर्मुससुन्तली फाउन्डेसन र केही अन्य सामाजिक अभियन्ता जुटे।
सरसफाइमा धुर्मुससुन्तली फाउन्डेसनका तर्फबाट १० जना र सामाजिक अभियन्ता खेम शर्माको टिमबाट १५ जना तथा रङरोगनका लागि ६३ जनासहित करिब १ सय जनाको समूहले वीर अस्पतालको सफाइ र रङरोगन महिनौँ लगाएर गरेको छ।
भूकम्पपछि पुनःनिर्माणमा सक्रियता
धुर्मुससुन्तली नेपाली कला क्षेत्रमा अहिलेका सबैभन्दा लोकप्रिय हास्य कलाकार दम्पती हुन्। धुर्मुससुन्तलीको जोडी कला क्षेत्रमा मात्रै सीमित रहेन अब। २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त क्षेत्रमा आधुनिक बस्ती निर्माण गरेपछि धुर्मुससुन्तली फाउन्डेसन सामाजिक कार्यका लागि परिचय बनाउँदै गएको छ।
काभ्रेपलाञ्चोकको पाँचखाल–६ स्थित डाँडागाउँमा नमुना बस्ती निर्माण गरेर शुरु भएको सामाजिक कार्यको प्रारम्भ अहिले ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पुगेको छ। धुर्मुस र सुन्तलीले गिरानचौर नमुना बस्ती निर्माण गरेर पुनःनिर्माण प्राधिकरणमाथि गतिलो प्रश्न उठाइदिए। ५ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको बस्तीमा ६५ वटा घर छन्।

महोत्तरीको बर्दिबासमा एकीकृत नमुना मुसहर बस्ती निर्माण गरेको फाउन्डेसनले सिन्धुपाल्चोकदेखि सप्तरीसम्म पुग्दा उनीहरूले गरेको कार्यका सूची निकै लामो बन्छ। धुर्मुससुन्तली फाउन्डेसनले रौतहटमा सन्तपुर एकीकृत नमुना बस्ती निर्माण गरी आदिवासी माझी समुदायका नागरिकका लागि ओत लाग्ने ठाउँ दिएको छ। फाउन्डेसनले पाँच करोड ९५ लाख रुपैयाँ निर्माण लागत विभिन्न दातामार्फत जुटाएको थियो।
सीताराम र कुञ्जनाको बाल्यवस्था
कुञ्जना घिमिरे अर्थात् सुन्तली अभिनेत्री हुन्। तर, उनको परिचय यतिमै सीमित छैन। उनी सामाजिक कार्यकर्ता तथा अभियन्ता पनि हुन्। कुञ्जनाको जन्म ललितपुरमा भएको हो। त्यसैगरी, सीताराम कट्टेल अर्थात् धुर्मुस सोलुखुम्बुमा जन्मिएका हुन्। २०४० साल असार ४ गते जन्मिएका सीताराम झापाको गौरादहमा हुर्किएका हुन्। कलाकारिताकै दौरान विवाह बन्धनमा बाँधिएका धुर्मुससुन्तलीकी एक छोरी छन्।
र, यो पनि...
गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा जुटिरहेका सीताराम र कुञ्जनाको पछिल्लो प्रोजेक्ट थियो – नमुना नेपाल निर्माण। २०७४ सालको जेठ २२ गते हास्य कलाकार तथा सामाजिक अभियन्ता कट्टेल र घिमिरेले नमुना नेपाल निर्माण गर्ने घोषणा गरिसकेका छन्। हिमाल, पहाड, तराई, मधेशको सांस्कृतिक तथा सामाजिक संरक्षणसहित नमुना नेपाललाई विश्वमा चिनाउने योजना बनाएको उनीहरूले बताएका थिए। गत भदौ महिनामा पहाडी र हिमाली क्षेत्र पहिरोको प्रताडनासँग जुधिरहेका बेला राहत संकलनमा व्यस्त थिए, सीताराम र कुञ्जना।
त्यसैगरी, चैत १७ गतेको बारा–पर्सा हावाहुरीबाट विचल्लीमा परेका पीडितहरूका लागि राहत लिएर पुगेका उनीहरू फर्किएर रंगशाला निर्माणका लागि आर्थिक संकलनको अभियानमा छन्। ‘इच्छाशक्ति जागृत हुनु नै सबैभन्दा ठूलो कुरा रहेछ,’ कट्टेल भन्छन्, ‘हामी तीव्र इच्छाशक्ति र जिम्मेवारीका साथ काम गर्दै छौँ।’