काठमाडौँ – मार्क जुकरबर्गलाई फेसबुकको अध्यक्षबाट हट्न आह्वान गरिएको विषयमा सो संस्थाको वार्षिक साधारण सभामा बिहीवार मतदान हुने अनुमान गरिएको छ। जुकरबर्ग फेसबुकका प्रमुख कार्यकारी अधिकृत तथा सञ्चालक समितिका अध्यक्ष हुन्।
उनलाई अध्यक्ष पद त्याग गर्न आह्वान गर्नेहरूले त्यसो गर्दा जुकरबर्गले कम्पनी सञ्चालनमा अझ ध्यान र्पुयाउन सक्ने तर्क गरेका छन्। फेसबुकमा जुकरबर्गको ६० प्रतिशत शेयर छ र उनले मतदानमा हार्ने सम्भावना एकदमै न्यून छ।
तर उनीविरुद्ध मतदात गर्नेहरूको सङ्ख्याले मार्क जुकरबर्गको नेतृत्वप्रति कति विश्वास रहेछ त्यसको सङ्केत देखिनेछ।
किन उठ्यो यो माग?
ट्रिलियम एसेट म्यानेजमेन्ट नामक कम्पनीसँग फेसबुकको ७० लाख डलर बराबरको शेयर छ। सो कम्पनीले करोडौँ डलरको शेयर भएका अन्य कम्पनीसँग मिलेर काम गर्ने गरेको छ। जकर्बर्गले अध्यक्ष पद छोड्नुपर्ने माग गर्नेमध्ये सो कम्पनी पनि एक हो।
‘संसारको एउटा विशाल कम्पनीमा अहिले उनले मार्क जुकरबर्गले दुईवटा महत्वपूर्ण पद ओगटेका छन्। यदि उनले प्रमुख कार्यकारी अधिकृतको भूमिकामा केन्द्रित भएर अरूलाई स्वतन्त्रतापूर्वक सञ्चालक समितिको अध्यक्षता गर्न दिए भने त्यो धेरै राम्रो स्थिति हुन्छ,’ ट्रिलियमका वरिष्ठ उपाध्यक्ष जोनस क्रोनले भने।
ल्यारी पेज र एल्फबेट तथा बिल गेट्स र माइक्रोसफ्टको दृष्टान्त दिँदै उनले संस्थापक नै सञ्चालक समितिको अध्यक्ष बनिरहन पर्दैन भन्ने उदाहरण भएको तर्क गरे। ‘मलाई थाहा छ यो त्यति सजिलो कदम नहुन सक्छ। तर यो महत्त्वपूर्ण कदम उनको हित र उनका हिस्सेदारको हितमा हुन्छ।’
धेरै शक्ति
मे महिनामा फेसबुकका भूतपूर्व सुरक्षाप्रमुख एलेक्स स्ट्यामोसले जकर्बर्गलाई प्रमुख कार्यकारीको पद छोड्न आग्रह गरेका थिए। क्यानडामा आयोजित एउटा कन्फरेन्समा बोल्दै उनले जकर्बर्गसँग ‘अति धेरै शक्ति भएको न्यायसङ्गत तर्क’ भएको बताएका थिए।
जकर्बर्गले आफ्नो नेतृत्वको बचाउ गर्ने गरेका छन्। फेसबुकजस्तो अभूतपूर्व संस्था निर्माण गर्दा केही कुरा बिग्रिन सक्ने टिप्पणी गर्दै गत एप्रिल महिना उनले भनेका थिए, ‘हामीले त्रुटिबाट सिकेका छौँ कि छैनौँ त्यसबाट मानिसहरूले हामीलाई उत्तरदायी बनाउनुपर्छ भन्ने मलाई लाग्छ।’ (बीबीसी)