काठमाडौँ - सर्वाधिक प्रचलनमा रहेको भिडियो एप ‘टिक–टक’ चलाउन भारतमा प्रतिबन्ध लगाइएको छ। भारत सरकारले गुगल र एप्पल कम्पनीलाई ‘टिक-टक’ बन्द गर्न निर्देशन दिएको थियो। सोही निर्देशनलाई आत्मसात गर्दै उक्त एप ब्लक गरिएको हो।
टिक–टक चिनियाँ इन्टरनेट टेक्नोलोजी कम्पनी ‘बाइटडान्स’ले डोयिन नामाकरण गरेर सेप्टेम्बर २०१६ मा लन्च गरेको भिडियो एप हो। हाल ३८ भाषामा उपलब्ध यो एप बंगलादेशमा यसअघि नै बन्द भइसकेको छ।
कम उमेरका बालबालिकाको अनाधिकृत रुपमा विवरण संकलन गरेको र बालबच्चाको साइबर गोपनियताको हनन गरेको मुद्दामा टिक–टक बनाउने कम्पनीले अमेरिकालाई गत फेब्रुअरीमा ४० करोड अमेरिकी डलर क्षतिपूर्ती तिरेको थियो।
भारतमा मात्र करिब १ सय २० मिलियन नियमित टिक–टक प्रयोगकर्ता रहेका थिए। टिक–टकका भारतसँगै नेपालमा उल्लेख्य प्रयोगकता रहेका छन्।
एकपछि अर्को दक्षिण एसियाली मुलुकमा यो एपमाथि प्रतिबन्ध लागेपछि नेपाली प्रयोगकर्तामा पनि प्रतिबन्धको चिन्ता बढेको छ। विश्वभर १ विलियन नियमित टिक-टक प्रयोगकर्ता रहेका छन्।