काठमाडौँ – नेपाली फुटबलको विकासमा विमला संग्रौला पौडेलले गरेको योगदान अपत्यारिलो लाग्नसक्छ। जीवनको उर्वर समयमा पारिवारिक बन्धनलाई च्यालेन्ज गर्दै फुटबलको विकासमा होमिएकी विमला १ वर्षयता औपचारिक रूपमा खेलजगतमा छैनन्।
‘तर, चिन्ता अझ बढेको छ, हामी जिम्मेवारीमा रहँदा गर्नुपर्ने काम ओझेलमा पर्छन्, व्यस्तताका कारण पनि कतिपय काम देखिँदैनन्,’ अखिल नेपाल फुटबल संघको महिला समितिकी निर्वतमान महासचिव रहेकी विमला भन्छिन्, ‘यो बीचमा मैले धेरै अध्ययन गरेँ, हामीले नेपाली फुटबलका लागि धेरै काम गर्न बाँकी छ, पदमा नरहेपछि मैले आफ्नो स्थानबाट लगातार सोही कामलाई निरन्तरता दिइरहेकी छु।’
३० वर्षयता नेपाली फुटबल खेलमा समर्पित विमलालाई अहिले पनि आफूले के पाएँभन्दा पनि राष्ट्रलाई के दिएँ भन्ने चिन्ताले सताउँछ। उनी भन्छिन्, ‘अहिलेसम्म जति गरियो, त्यो सकियो, अबका युवा खेलाडीलाई कस्तो बनाउने, महिलालाई खेलमा लाग्न कसरी प्रेरित गर्ने भन्नेमै म बढी चिन्तनशील छु।’ नेपाल ओलम्पिक कमिटी मातहतको महिला खेलकुद आयोगकी महासचिव रहेकी उनी नेपाली खेलकुदलाई अघि बढाउनका लागि अहोरात्र सक्रिय छिन्।
विद्रोह गरेर फुटबलमा लागेकी विमला
नेपाली महिला फुटबलको इतिहासलाई हेर्ने हो भने विमला जीवित इतिहास हुन्। उनले नेतृत्व लिएपछि आफ्नो टिमलाई सधैँजसो उपाधि जिताइन्। विमलाले आफू कप्तान भइञ्जेल लगातार दबदबा कायम गरिरहिन्।
विसं २०२९ फागुन ४ गते पाँचथरको सुभाङका भीमप्रसाद संग्रौला र अम्बिका संग्रौलाकी सुपुत्रीका रूपमा धर्तीमा पाइला टेकेकी विमलाले खेल जीवनको शुरुआतमा निकै संघर्ष गर्नुपर्यो।
कुरा २०४२ सालतिरको हो, विमला फुटबल खेलेर घर फर्किएकी मात्रै थिइन्, उनका बुवाले घरभित्र पस्नै निषेध गरेछन्। ‘छोरीहरू पढे भने बिग्रिन्छन् भन्ने सोच बोकेको समाजमा मैले फुटबल खेल्दा त्यस्तै बहिस्करणमा पर्नुपर्यो,’ उनी भन्छिन्, ‘१ सातासम्म घर जान पाइनँ तर मेरा दिदीबहिनीहरूले दिएको हौसला र प्रेरणाले मलाई खेल क्षेत्रमा लाग्नबाट कसैले रोक्न सकेन।’
पाँचथरमा जन्मिए पनि विमलाको बाल्यकाल भने झापामै बित्यो। उनले प्रारम्भिक शिक्षा महेन्द्रज्योति र लालपानी स्कूलबाट हासिल गरिन्। कनकाई मावि सुरुङ्गामा कक्षा ८ पढेपछि ९ र १० कक्षाको शिक्षा महेन्द्ररत्न मावि अनारमनीबाट हासिल गरिन्। विमलाले काठमाडौँको रत्नराज्य क्याम्पसबाट प्रवीणता प्रमाणपत्र तह पूरा गरिन्।
२०४१ सालबाट खेल जीवन शुरु गरेकी विमलाले २०७४ सालपछि खेलकुद (फुटबल)बाट बिदा लिइन्। तर, अन्य खेलकुद विधामा उनी अहिले पनि सक्रिय छिन्। दौडबाट खेलजीवन शुरु भएसँगै उनले फुटबलका साथै एथ्लेटिक्सका विभिन्न विधामा उत्तिकै सक्रियता र कुशलताका साथ आफ्नो भूमिका निर्वाह गरिन्।
‘लालपानी स्कूलमा कक्षा ६ मा पढ्दा म सगरमाथा सदनमा थिएँ, उक्त सदनको टोली नेता चित्रकला ओली र भूपेन्द्र दाहाल हुनुहुन्थ्यो, उहाँहरूले नै मलाई दौड प्रतियोगितामा सहभागी गराउनुभयो,’ उनले भनिन्। २०४२ सालमा शिवगञ्जमा आयोजित खेलकुद प्रतियोगितामा सहभागी हुँदा ११ वटा स्कूलका खेलाडीसँग उनले प्रतिस्पर्धा गरेकी थिइन्। दौडका दुई विधामा भएको प्रतिस्पर्धामा उनी दुवैमा विजेता भइन्।
‘त्यसपछि वीरेन्द्र शिल्डमा एथ्लेटिक्समै सहभागी हुने मौका मिल्यो,’ विमला सम्झिन्छिन्, ‘यसरी नै विभिन्न प्रतियोगितामा सहभागी हुँदै र सफलता हासिल गर्दै खेल जीवन अघि बढ्यो, झापाबाट २ वर्ष उत्कृष्ट खेलाडी बन्न सफल भएँ, मेची अञ्चलको प्रतिनिधित्व गर्दै २०४३ सालमा फुटबल टिमको नेतृत्वको अवसर प्राप्त भयो।’
मेची अञ्चलमा महिला फुटबल टिम निर्माण गर्न महेश्वर मुल्मी र सन्त रायमाझी झापा पुगेका थिए। खेलाडी छनोटमा पहिलो नम्बरमा परिन् विमला। विसं २०४३ मा चौथो राष्ट्रिय महिला फुटबल प्रतियोगिता इलाममा भएको थियो। त्यस प्रतियोगितामा झापाबाट मेची अञ्चलको नेतृत्व गर्दै उनले उपाधि दिलाइन्।
‘त्यसअघि भएको पहिलो, दोस्रो र तेस्रो प्रतियोगिता बागमतीले जितेको रहेछ, चौथो हामीले जित्यौँ, म क्याप्टेन थिएँ,’ उनी भन्छिन्, ‘त्यसपछि २०४९ सालसम्म लगातार मेचीले नै उपाधि जित्यो।’
जिम्मेवारी फेरिएपछि...
विसं २०४९ पछि विमलाको जिम्मेवारी बदलियो। २०४८ सालमा नेपाली सेनामा कार्यरत घनश्याम पौडेलसँग उनको विवाह भयो। २०४९ सालको राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि जितिञ्जेल उनले खेलिरहेकी थिइन्। तर, छोरा हिरज पौडेल जन्मेपछि उनको जिम्मेवारी पनि फेरियो। छोरासँगै छोरी नेहा पौडेललाई हुकाउने जिम्मेवारी मात्रै थिएन उनको काँधमा, खेलकुद क्षेत्रमा भविष्य बनाउन चाहने लाखौँ बालबालिकालाई बाटो देखाउनु पनि थियो।
फुटबल खेल्न छोडेपछि सहायक फुटबल प्रशिक्षकको जिम्मेवारी पाएकी विमलाले २०५० सालमा रेफ्रीको तालिम लिएर नेपालको पहिलो महिला रेफ्री भइन्। साथै, राष्ट्रिय महिला टोलीको प्रशिक्षकको जिम्मेवारी पनि उनको काँधमा आइपुग्यो। २०५० सालमा राष्ट्रिय खेलकुद परिषदमा खरिदार जागिर पाए पनि श्रीमान्का कारण उनले निरन्तरता दिन भने सकिनन्।
२०५२ सालमा केशव स्थापितले प्राविधिकका लागि लोकसेवा आयोगबाटै दरबन्दी आह्वान गरेपछि विमला फुटबल प्रशिक्षक बनेर खेलकुद क्षेत्रकाे सेवा गर्न थालिन्। ‘पोखरामा रेफ्री कोर्स खुल्यो, एन्फा नेतृत्वलाई आग्रह गरेर म गएँ, तेक्वान्दोकी सपना मल्ल सहभागी रहे पनि फुटबलको पहिलो रेफ्री हुने मौका मैले पाएँ,’ उनले भनिन्।
२०५२ सालबाट २०५७ सालसम्म सहायक प्रशिक्षकको जिम्मेवारीमा रहेर काम गरे पनि राजनीतिक र आग्रह–पूर्वाग्रहका कारण उनीसहित चार जना प्राविधिक बर्खास्तीमा परे। तर, उनी कामविहीन हुनु परेन। २०५८ सालमा अखिल नेपाल फुटबल संघ एन्फाले सम्पूर्ण महिला फुटबलसम्बन्धी गतिविधि हेर्ने गरी महिला टिमको जिम्मेवारी दियो विमलालाई।
एन्फाको महिला समितिमा आएपछि...
२०६४ सालपछि अखिल नेपाल महिला फुटबल समिति स्थापना भयो। शुरुमा विमलाले सदस्य रहेर काम गरिन्। त्यसपछि महासचिव पदमा २ कार्यकाल पूरा गरिन्। सन् २००८ मा महासचिव भएकी विमलाले सन् २०१० मा राष्ट्रिय महिला टोलीको टिम मेनेजरको जिम्मेवारी पाएकी थिइन्।
‘म महासचिव भएकै समयमा नेपालले महिला साफ फुटबलमा पहिलोपटक सहभागिता जनायो, सन् २०१० मा बंगलादेशमा भएको साग नेपाली टोलीले पहिलोपटक खेलेको हो,’ उनी भन्छिन्, ‘त्यसभन्दा अगाडि सागमा महिला फुटबल टोली समावेश भएको थिएन, सो प्रतियोगितामा फाइनलमा भारतसँग पराजित हुँदै नेपाली टोली उपविजेता बनेको थियो।’ फाइनलसम्म अविजित रहेको नेपाली महिला टोलीले थोरैमा पनि ३ गोलले जीत हासिल गरेको थियो।
सन् २०१२ मा श्रीलंकामा साफ च्याम्पियनशिप भयो। त्यसमा पनि सागकै नतिजा दोहोरियो र नेपाल उपविजेता बन्यो। त्यसपछि २०१४ मा पाकिस्तानमा आयोजना भयो। उपाधि यात्रामा सधैँ बाधक बन्दै आएको भारतसँग नै फाइनलमा २ गोलले पराजित हुँदै पुनः नेपाल उपविजेतामा टुंगियो। उक्त खेलमा रेफ्री र लाइन्समेनको असमझदारीका कारण विवादसमेत भयो। सोही विवादका कारण टिम व्यवस्थापकको जिम्मेवारीबाट विमलाले ८ महिना निलम्बित हुनुपर्यो।
‘हाम्रो कार्यकालभन्दा अगाडिसम्म भारतले नेपाली महिला टोलीलाई ११ गोलसम्म लगाएको थियो, सन् १९९९ मा त झनै १६–१७ गोल लगाएको थियो,’ विमला भन्छिन्, ‘पुरुष टोलीले १ वर्ष ट्रेनिङ गर्छन् तर महिलाले १ महिनामात्र ट्रेनिङ गरेर पनि त्यत्तिको नतिजा निकाल्नु सानो कुरा होइन, महिला टोलीका लागि बजेट र प्रशिक्षणको समय बढाए २ गुणा उत्कृष्ट नजिता निकाल्ने ग्यारेन्टी गर्छु।’
सन् २०१० मा मुख्य प्रतिस्पर्धी भारतलाई हिरो गोल्डकपमा हराए पनि साफ च्याम्पियनशिपमा नेपाली महिला टोलीले उपाधि जित्न सकेको छैन। यद्यपि, युवा खेलाडीहरूले तुलनात्मक रूपमा खेल सुधारेकाले आगामी दिनमा इतिहास निर्माण हुने विमलाको विश्वास छ।
एन्फा महिला समितिबाट बिदाइ
नेपालमा महिलासम्बन्धी खेलकुद प्रतियोगिता हुनै छोडेका थिए। विसं २०६४ सालपछि खेलकुदको रूप फेरियो। विमला संग्रौला पौडेलको संयोजकत्वमा गणतान्त्रिक खेलकुद महासंघ दर्ता गरेर ५४ सालदेखि रोकिएको खेलकुद प्रतियोगिताको निरन्तरता पुनः शुरु भयो।
प्रचण्ड नेतृत्वको तत्कालीन नेकपा माओवादीको भ्रातृ संगठनका रूपमा जिल्ला प्रशासन कार्यालयमा दर्ता गराएर उद्योगपतिहरूसँग चन्दा उठाएकै भरमा १० वटा राष्ट्रिय खेल र फुटबलको अन्तर्राष्ट्रिय खेल समावेश गरी प्रधानमन्त्री कप खेलकुद प्रतियोगिता सञ्चालन गरेको उनी सम्झिन्छिन्। प्रतियोगितामा दक्षिण एसियाका ८ वटा राष्ट्रले सहभागिता जनाएका थिए।
महासचिवको जिम्मेवारीबाट बिदा भएपछि पनि आफ्नो जिम्मेवारी निभाइरहेकी छन् विमला। ‘नेपाली फुटबललाई यो स्तरबाट माथि उठाउनका लागि फुटबल विज्ञहरूलाई टाढा राख्नु हुँदैन, खेलकुद क्षेत्रलाई नातावाद र कृपावादबाट मुक्त बनाउनु पर्छ, आर्थिक पारदर्शिता उत्तिकै महत्त्वपूर्ण छ,’ उनी भन्छिन्, फुटबललाई माया गर्ने सबैलाई समेट्दै कुनै पनि राजनीतिक पूर्वाग्रह नराखी फुटबललाई अगाडि बढाउनु पर्छ।’
गणतान्त्रिक खेलकुद महासंघकी वरिष्ठ उपाध्यक्ष तथा गरिब विद्यार्थीलाई पढाइका लागि आर्थिक सहयोग गर्ने संस्था अठोट नेपालकी महासचिव विमला काठमाडौँ महानगरको वडा नम्बर–३२ को उपसमितिमा बसेर सामाजिक कार्य गरिरहेकी छन्। उनी भन्छिन्, ‘सक्रियता नै जीवनको पर्याय हो, एकछिन फुर्सद नहोस् तर काम गरेर थाक्दिनँ म।’