नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटघाट भएको छ ।
भेटमा एमसीसी, संसद अवरोधलगायतका विषयमा छलफल भएको बताइएको छ ।
बैठकपछि बाहिर निस्कने क्रममा संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले एमालेसँग एमसीसी र सदन खुलाउने विषयमा छलफल भएको बताए ।
नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले नेकपा (माओवादी केन्द्र) सँगको छलफल सकारात्मक भएको तर निष्कर्षमा नपुगिएको प्रतिक्रिया दिए । ‘एमसीसी, राष्ट्रिय विषय र सदनको गतिरोध हटाउनेलगायत विषयमा कमरेड प्रचण्डहरूसँग सकारात्मक छलफल भयो र त्यसलाई निरन्तरता दिने कुरा भयो,’ उनले भने, ‘विगतका कुराहरूदेखि अहिलेसम्मका समीक्षा गरियो । अहिले नै निष्कर्षमा पुगिएको छैन ।’
’दाहाललगायतका अरु नेतासँग निकै लामो समय छुट्टाछुट्टै र सामूहिकरूपमा कुराकानी भयो । धेरैपछि शीर्ष तहमा धेरै गम्भीरतापूर्वक कुराकानी भएको हो,’ उनले भने, ’प्रचण्ड कमरेडहरूसँग छलफल सुरु भएको छ ।’
छलफलमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल तथा उपाध्यक्षद्वय सुवास नेम्वाङ र विष्णु पौडेल तथा माओवादीबाट प्रचण्डका अलावा नेताहरू नारायणकाजी श्रेष्ठ, देव गुरुङ र शक्ति बस्नेत सहभागी थिए ।
यसअघि ओलीसँग प्रधानमन्त्री शेरबहादुर देउवाले छलफल गरेका थिए ।
एमसीसी तनाव
एमसीसी पास गर्न सत्तारुढ दल माओवादी, नेकपा एसले साथ नदिएपछि प्रधानमन्त्री देउवा एमालेसँग नजिकिएका छन् । उनी सत्ता गठबन्धन तोडेरै भए पनि एमसीसी पास गर्ने मनस्थितिमा देखिएका छन् ।
तर, एमालेले एमसीसी पास गर्न सत्ता गठबन्धन टुट्नुपर्ने, सभामुख अग्नि सापकोटालाई हटाउनुपर्ने तथा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि लगाइएको महाअभियोग फिर्ता लिनुपर्ने शर्त अघि सारेपछि देउवा समस्यामा परेका छन् ।
देउवाले एमालेका नेतासँगको भेटघाटलाई तीव्रता दिएर माओवादीलाई दवाव दिएपछि प्रचण्डले देउवालाई दवाव दिन ओलीसँग भेट गरेका हुन् ।
विवाद
गत आइतबारको प्रतिनिधिसभा बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्कीले एमसीसी सम्झौता संसदमा पेश गरेका थिए ।
अमेरिकी विकास परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची राखिएको बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ ।
तर, एमसीसीका बारेमा सत्ता साझेदार दलहरुबीच विवाद छ । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस एमसीसी पास गर्ने रणनीतिमा भए पनि सत्ता साझेदार नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले भने अहिलेसम्म एमसीसीको विपक्षमा रहेको जनाएका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले भने औपचारिकरुपमै सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरेको छ भने अर्को सत्ता साझेदार अर्को दल जनता समाजवादी पार्टीले एमसिसीबारे औपचारिक धारणा बनाएको छैन ।