स्थानीयवासीको अवरोधका कारण यही फागुन १ गतेदेखि काठमाडौं उपत्यकाको फोहोर उठाउन सकिएको छैन ।
९ दिनसम्म फोहोर उठ्न नसक्दा सहरका चोक दुर्गन्धित भएको छ । हाल फोहर विसर्जन गरिएको स्थान नुवाकोटको सिसडोलसम्म पुग्ने बाटो मर्मत समयमै नगरेको भन्दै पासाङल्हामु राजमार्गका बासिन्दाले गरेको अवरोधका कारण काठमाडौं उपत्यकाको १८ स्थानीय तहका फोहोर उठाउन नसकिएको हो ।
नौ दिनदेखि फोहर विसर्जन हुन नसक्दा उपत्यकाको मुख्य चोकमा फोहोर थुप्रिएको छ । महानगरपालिकाले भने सडक विभागलाई सडकको काम तत्काल पूरा गरी स्थानीयवासीको अवरोध हटाइदिन माग गरेको छ ।
१८ स्थानीय तहको फोहर विसर्जनका लागि दीर्घकालिन समाधानका प्रयास हुन नसक्दा पटकपटक समस्या उत्पन्न भएको कामपा वातावरण विभाग प्रमुख सरिता राईको भनाइ छ । उनका अनुसार २०७० सालदेखि सुरु गरिएको बाटो अहिलेसम्म बन्न नसक्दा त्यहाँ पटकपटक स्थानीयवासीले आन्दोलन गरेकाले फोहोर विसर्जनमा अवरोध हुँदै आएको छ । उनले भनिन्, “यस्तो विषयमा केन्द्र सरकार संवेदनशील हुनुपर्छ । त्यसका लागि बाटो छिटो निर्माण गर्न सम्बन्धित निकायले पहल गर्नुपर्छ ।”
सडक बनाउने जिम्मेवारी सङ्घीय सरकारको भए पनि उपत्यकाको फोहर पटकपटक रोकिँदा अपजस भने कामपाले पाउने गरेको छ । हाल बञ्चरेडाँडामा दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माण भइरहेको र निर्धारित समयमा काम सम्पन्न नहँुदा समस्या भएको बताइएको छ ।
कामपाले नियमितरुपमा उपत्यकाको फोहोर विसर्जन गर्ने हो भने केन्द्र सरकारले छिटोभन्दा छिटो दीर्घकालिन समाधन खोज्न आवश्यक रहेको अन्यथा आगामी बर्खाका समयमा झन ठूलो समस्या आउने जनाइएको छ ।
काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहोर नुवाकोटस्थित सिसडोलमा व्यवस्थापन हँुदै आएको छ । उक्त स्थान पनि भरिएकाले फोहर व्यवस्थापनमा थप समस्या हुन थालेको हो ।
हाल फोहोर व्यवस्थापन भइरहेको स्थानभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माणको काम निर्धारित समयमा सम्पन्न हुन नसक्दा पनि समस्या आएको कामपाको भनाइ छ ।