तनहुँ– लकडाउनसँंगै जिल्लाम रगत अभाव भएपछि तनहुँमा रक्तदान तीव्र पारिएको छ। अस्पतालमा रगत अभावपछि एक हप्ताका अवधिमा विभिन्न संघसंस्थाले रक्तदान कार्यक्रम गरी ९६ युनिट संकलन गरेका छन्।
सिद्धार्थ सहकारी संस्था दुलेगौँडाले ३६, प्रोगेसिभ इञ्जिनियर एशोसियशन अफ नेपाल–पिनले ३० र जेसिआई व्यासनगरले ३० युनिट गरी रक्तदानमार्फत ९६ युनिट ब्लड संकलन गरेका हुन्। सिद्धार्थ सहकारी संस्था दुलेगौँडाले संस्थाको छैटौँ स्थापना दिवसका अवसरमा सोमबार रक्तदान कार्यक्रम गरेको सहकारीका प्रबन्धक जोसेफ देवकोटाले बताएका छन्। नेपाल रेडक्रस सोसाइटी कास्कीको प्राविधिक सहयोगमा भएको कार्यक्रममा सहकारीका शेयर सदस्यले रक्तदान गरेका हुन्।
डायलाइसिसका बिरामीलाई रु एक हजार
शुक्लागण्डकी नगर कार्यपालिकाले नगरपालिकाका मिर्गाैला डायलाइसिसका नौ बिरामीलाई डायलाइसिसका दिन प्रतिव्यक्ति रु एक हजार प्रदान गर्ने भएको छ। नगरपालिकाको सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो।
दमौली अस्पतालमा विसं २०७२ मंसिर २ गतेदेखि शुरुआत गरिएको डायलाइसिस केन्द्रबाट दैनिक ४१ पुरुष र २७ महिला गरी ६८ बिरामीलाई डायलाइसिस सेवा दिइँदै आएको शत्रुध्न मञ्जु डायलाइसिस केन्द्र दमौली शाखाका प्रमुख प्रेमसिं गुरुङले जानकारी दिएका छन्।
नगरपालिकाभित्र रहेका त्यस्ता बिरामीलाई लकडाउन अबधिभर डायलाइसिस गर्न जाँदा लाग्ने यातायात खर्चबापत रु एक हजारको दरले उपलब्ध गराउने निर्णय भएको नगरपालिकाका प्रवक्ता खिम कुमालले जानकारी दिएका छन्। त्यस्तै वडागत रुपमा छुट एक हजार २९९ परिवारलाई पनि राहत उपलब्ध गराउने भएको छ।
गण्डकी प्रदेश सरकारको मापदण्डका आधारमा नगरस्तरीय र वडास्तरीय योजना सञ्चालनका लागि आवश्यक निर्माण सामग्री उपलब्ध गराइने भएको छ। नगरपालिकाका हार्डवयर पसल र क्रसर उद्योगमा मौज्दात सामग्री ढुवानीका लागि प्रत्येक दिन बिहान ११देखि दिउँसो १ बजेसम्म पसल खुला राख्ने निर्णय भएको उनले बताएका छन्।
यसैबीच जिल्ला प्रशासन कार्यालयले बजार अनुगमन तीव्र बनाएको छ। उपभोक्ताका गुनासा आएसँंगै बजार अनुमन तीव्र बनाइएको हो। सोमबार मात्रै दमौली बजारका तरकारी, फलफूल, खाद्यान्न, बीउ बिजनलगायत पसलको अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले बताएका छन्। अनुगमनका क्रममा दुई खाद्यान्न पसलमा गुणस्तरहीन सामान भेटिएकाले परीक्षणका लागि खाद्य गुणस्तर विभागमा पठाइएको उनले जानकारी दिएका छन्। रासस