काठमाडाैं - नेपाल घुम्न आएको बेला कोरोनाभाइरसका कारण लागु भएको लकडाउनले गर्दा घर फर्कन नपाएका ब्रिटिश नागरिकहरूले आफ्नो उद्धार गर्न ब्रिटिश सरकारसँग अनुरोध गरेका छन्।काठमाडाैँकाे विभिन्न होटलमा बसिरहेका उनीहरूले थुप्रै अन्तर्राष्ट्रिय उडान बन्द भएपछि आफ्नो देश फर्कन नसकेको बताएका छन्।
कोरोनाभाइरसको जोखिम न्यूनीकरणका लागि नेपाललगायतका मुलुकहरूले गरेको लकडाउनका कारण थुप्रै पर्यटकहरू नेपालमा अड्किएका बताइएको छ। नेपाल सरकारले अत्यावश्यक सेवाबाहेक अरू कामका लागि घरबाहिर निस्कन नपाउने गरी लकडाउन गर्ने आदेश जारी गरेको छ। मङ्गलवार बिहानबाट लागु भएको लकडाउन चैत १८ गते बिहान ६ बजेसम्म कायम रहने छ।
घर फर्कन चाहन्छु
बीबीसी न्यूज नेपालीसँग सम्पर्कमा आएका ६७ वर्षीय बब सियरवुडले थुप्रै प्रयास गर्दा पनि घर फर्कन सम्भव नभएको बताए। उनले भने, "म साथीहरूसँग मार्च १३ मा नेपाल घुम्न आएको थिएँ। मार्च २१ मा घर फर्कनुपर्ने थियो तर सम्भव भएन। मैले पाँच लाख रुपैयाँभन्दा बढी खर्च गरेर तीनपटक हवाई टिकट परिवर्तन गरिसकेँ।" "म छिट्टै घर फर्कन चाहन्छु। घरमा मेरो परिवार र साथीहरू कुरिरहेका छन्। यस्तो अवस्थामा पनि ब्रिटिश सरकारले त्यसै छाडिदिएको छ।" "म र मेरा साथीहरूलाई छिट्टै देश फिर्ता पठाइयोस् भन्ने आग्रह गर्न चाहन्छु।"
"सरकारको आश्वासन चाहियो"
मार्चको दोस्रो साता नेपाल घुम्न आएका ६५ वर्षीय रिचर्ड राइटले ब्रिटिश सरकारबाट केही आश्वासन चाहेको बताएका छन्। उनले भने, "अहिलेको अनिश्चितताको अवस्थामा हामी कहिले घर फर्कन पाउने भन्ने थाहा छैन। यस्तो बेला बेलायत सरकारले नै अघि सरेर हामीलाई घर फर्काउन विमानको व्यवस्था मिलाइदिन आग्रह गर्छौँ।" "किनभने मैले चारपटक पुन: टिकट बुकिङ गरिसकेँ तर म र मेरी श्रीमती फर्कन पाएका छैनौँ।" राइटका अनुसार उनको सम्पर्कमा अहिले काठमाण्डूको विभिन्न होटलमा रहेका १५ जना बेलायती नागरिकहरू छन्।
अन्य देशका नागरिक पनि
सियरवुड र राइटसहित सातजना बेलायती नागरिक ठमेलको नोर्बु लिङ्का होटलमा बसिरहेका छन्। होटलका अनुसार ती ब्रिटिश नागरिकबाहेक जर्मनी, फ्रान्स र स्वीट्जरल्यान्डका अन्य आठ नागरिकहरू पनि त्यहाँ बसिरहेका छन्। बेलायती नागरिक ६५ वर्षीय एयालन म्याकडोनल्ड भन्छन्, "होटलले हामीलाई राम्रो सुविधा दिएका छ तर यस्तो अवस्थामा हामी घर नै फर्कन चाहन्छौँ।"
नेपालमा २५ हजार विदेशी
बीबीसीले अध्यागमन विभागसँग कति पर्यटक नेपालमा छन् भन्ने तथ्याङ्क माग्दा यकिन तथ्याङ्क उपलब्ध नभएको बताइयो। विभागका प्रवक्ता रामचन्द्र तिवारीले भने, "अहिले २५,००० को हाराहारीमा विदेशीहरू नेपालमा रहेको देखिन्छ तर कुन देशको कति पर्यटक भिसामा आएका छन् भन्ने तथ्याङ्क भने छैन।" अहिलेको अवस्थाको अन्त्य भएपछि पर्यटकहरूको भिसामा समस्या भए उनीहरूलाई घर जान पाउने गरि विभागले सहयोग गर्ने तिवारीले बताए। बीबीसी