काठमाडौँ, २३ माघ – मानिसका लागि सबैभन्दा ठूलो सम्पत्ति उसको स्वस्थ शरीर हो। धनदौलत बाँचुञ्जेलसम्मका लागि आवश्यकीय सामग्री मात्रै हो। धनका लागि मानिसहरू खुब धौडधुप गर्छन्। आखिर जीवनको सारत्वमा सबैले रित्तो जानुपर्छ। जसरी रित्तो जन्मिनुपर्छ। जीवनका अनेकन परिभाषाहरू छन्। प्रत्येक पाइलामा जीवनको नयाँ परिभाषाको जन्म हुन्छ। जीवन मिठो छ। मृत्युको बाटो निकै पीडादायी छ।
जन्मजात बाहेक मानिसलाई विभिन्न खाले रोगले किन आक्रमण गर्छ? संसारमा खान नपाएरभन्दा पनि खान नजानेर धेरै मानिस मर्ने गर्दछन्। किन? कि संसारका मानिसले सबैभन्दा ठूलो सम्पत्ति आफ्नो स्वास्थ्य हो भनेर बुझ्न सकेको छैन? या त स्वास्थ्य विज्ञानले आम मानिसलाई सूचित गराउन सकेन कि? यी र यस्ता खालका तमाम प्रश्नको उत्तर हो– खराब जीवनशैली। भौतिक विलासिता। महत्वाकांक्षी जीवनशैली।
उल्लिखित जीवनशैलीलाई स्वास्थ्य विज्ञानले रोगहरूको प्रमुख कारण मान्छ। महत्वाकांक्षी जीवनशैलीलाई स्वस्थ जीवनशैलीमा परिणत गर्ने हो भने आरोग्य जीवनको आधार तय हुन्छ। जुन रोगको उचित औषधि पनि हो। जीवनको लागि आवश्यक पर्ने कुराहरु जोड्दै जाने र अनावश्यक कुराहरु छोड्दै जाने हो भने जीवन सोचे जस्तै बन्न सक्छ ।
भनिन्छ, खराब जीवनशैलीका कारण ९० प्रतिशत रोग जन्मन्छन्। स्वस्थ जीवनशैलीबाट नै ९० प्रतिशत रोगहरू ठीक हुने गर्छन्। मधुमेह, उच्च रक्तचाप, मुटुका रोग तथा मानसिक रोग (नकारात्मक सोचका कारण)जस्ता डरलाग्दा रोगहरू अनुचित जीवनशैलीकै उपज हुन्। र, यस्ता रोगबाट मुक्त हुन आफ्नो जीवनशैली परिवर्तन गर्न आवश्यक छ।
मानिस बाँच्नका लागि भोजन अनिवार्य छ। मानिसको आहार र सहारा नै अन्न हो। खानेकुरा मात्रै पनि मानिसका लागि सम्पूर्ण आहार हुन् भन्न खोजिएको भने होइन। देखेर, सुनेर, छामेर, महसूस गरेर पनि धेरै कुरा प्राप्त गर्न सकिन्छ।
मानिसले स्वस्थ जीवन बिताउनका लागि अनेक गर्नुपर्ने र ठूलो मूल्य चुकाउनुपर्ने छैन। सामान्य तरिकाहरू र सन्तुलित भोजन गर्नुपर्छ। आफ्ना आचरणहरूलाई सुधार्ने र समयानुकूल बनाउनुपर्छ। उचित आराम र शुभविचारी हुनुपर्छ। यति भएको खण्डमा स्वस्थ जीवनशैली हो। यस्तो स्वस्थ जीवनशैलीलाई व्यवहारमा उतार्न स्वस्थकर नियमको पालना गर्नुपर्छ।
पानी दोस्रो जिन्दगानी
मानव संसारका लागि प्रकृतिले धेरै थोक दिएको छ। धेरै कुरा आवश्यक भएर रहन्छन्। अर्थशास्त्रका अनुसार मानिसले कुनै चिजको नयाँ जन्म दिन र विनाश गराउन सक्दैन। मानिसका लागि पानि दोस्रो जिन्दगानी जस्तै हो। शरीरलाई खानाजस्तै पानी पनि आवश्यक छ। शरीरलाई स्वस्थ राख्न पानी पिउने समय र तरिकाबारे थाहा पाउनु जरुरी छ। शरीरमा आवश्यक पानी भएन भने विभिन्न रोगको जोखिम बढ्नसक्छ।
हामीले खाएको पोषक तत्व रगतमा पुर्याउन र शरीरको विजातीय तत्व बाहिर निकाल्न पानीको भूमिका रहन्छ। मानव शरीरमा ७६ प्रतिशत पानी हुन्छ अथवा तरल पदार्थ हुन्छ।
पानीमा तरलता, स्वच्छता, हलुकापन, शीतलपनजस्ता गुणहरू हुन्छन्। पानीको कमीले शरीरभित्र मात्र होइन, शरीरबाहिर छालामा पनि नकारात्मक असर देखा पर्न सक्छन्।
कपाल रङ्गाउने, केमिकल मिसावट भएको, तारेको, भुटेकोे मिठाइ तथा अखाद्य पदार्थ जङ्कफुड तथा पानीको प्रयोग, प्लास्टिकका भाँडा अत्यधिक प्रयोग गर्नेजस्ता संस्कृतिले शरीरभित्र धेरै नकारात्मक तत्व प्रवेश गरिरहेको हुन्छ।
यस्ता विकार शरीरबाट बाहिर निस्कन पाएन भने भित्रै जमेर बस्छ, फलस्वरूप विभिन्न अङ्गहरूमा अल्सर, ट्युमर, स्टोन, क्यान्सर, युरिक एसिड, कब्जियतजस्ता समस्या देखिन्छ।
स्वास्थ्य अध्ययनअनुसार अहिले ९० प्रतिशत स्वास्थ्य समस्या निष्कासन प्रक्रियाको गडबडीले भइरहेको छ। कम पानी पिउनाले मुत्राशयको क्यान्सर हुने खतरा रहन्छ।
शरीरमा पानीको मात्रा फोक्सोमा ९० प्रतिशत, रगतमा ८२ प्रतिशत, छालामा ८० प्रतिशत, मांसपिण्डमा ७५ प्रतिशत, मष्तिस्कमा ७० प्रतिशत, हड्डीमा २२ प्रतिशत रहेको हुन्छ। प्रत्येक मानिसलाई साधारणतया दैनिक रूपमा तीनदेखि चार लिटर वा १०—१२ गिलास पानी आवश्यक पर्छ। यो मात्रा स्थानीय हावापानी, तापक्रम, व्यक्तिको श्रमको अवस्था आदिमा भर पर्छ।
खानपिन
मानिसको जीवनमा खानेकुराले सबैभन्दा महत्वपूर्ण प्रभाव पारिहेका हुन्छन्। खाँदा मिठो लाग्ने तर त्यसको भावी असरलाई वास्ता नगरेर भेटेको खण्डमा आवश्यकभन्दा बढी खाइदिने र जीवन त हो मर्नैपर्ने भन्नेजस्ता भावनामा डुबेर नचाहिने खानेकुरा खानाले पनि रोगहरूको सिकार हुनुपर्ने हुन्छ।
एउटा व्यक्ति स्वस्थ हुने हो भने ऊ मात्रै होइन, उसका परिवार, गाउँटोल, समाज र सिङ्गो देश स्वस्थ रहन्छ। हामीले खानाको सन्तुलनमा ध्यान दिनुपर्छ। पानीको हकमा कहिले धेरै, कहिले थोरै पानी खानु हुँदैन।
खानेकुरा र पानीको मात्रा मिलाएर मात्रै सेवन गर्न जरुरी छ। सधैँ केही समयको अन्तर राखी पानी पिउने गर्नुपर्छ। जति धेरै पानी बाहिरिन्छ, उति धेरै पानी पिउनुपर्ने स्वास्थ्य विज्ञहरूको सुझाव छ। पानीसँगै झोल पदार्थ भएका खानेकुरा पनि प्रयोग गर्नुपर्छ। फलफूल, सागपात प्रशस्त मात्रामा खाने गर्नुपर्छ। शरीर स्वस्थ राख्न रसिलो फलफूल खानुपर्छ।
दैनिक रूपमा सागपात खाने, खानामा सलाद समावेश गर्ने, टुसा उम्रेका अनाज खाने, बिहान उठ्नेबित्तिकै एक गिलास मनतातो पानीमा कागतीको रस राखेर पिउने, मौसम अनुसारका फलफूल खाने, चिसो पेयपदार्थ नपिउने, चिया–कफी धेरै नपिउने, रेसायुक्त तरकारी खाने, नुन कम खाने, बढी गुलियो नखाने, तारेको र डढेको नखाने, खाना खानेबित्तिकै नसुत्ने, रक्सी, चुरोट र सूर्ती सेवन नगर्ने गर्नुपर्छ।
त्यस्तै बिहान कम्तीमा ३० मिनेट हिँड्ने, व्यायाम गर्ने, तनावमा काम नगर्ने, सुख, दुःख बाँड्ने, परिवारसहित घुमफिर गर्ने, महिनामा शरीर चेकअप गराउने, ३–३ महिनामा ब्लडप्रेसर जाँच्ने, शाकाहारी जीवनशैली अपनाउने, सकारात्मक सोच्ने, योगा गर्ने, खुसी रहने, विगतका कुरालाई भुल्ने कोसिस गर्ने, व्यस्त रहने। यति गर्न मानिसलाई कुनै समस्या र समय दिनुपर्दैन। ख्याल गरे पनि काफी जीवन बाँच्न सकिन्छ।