दिनेश बिष्ट, कैलाली, १८ माघ – बैंकको चर्काे ब्याजदर घटाउन माग गर्दै कैलालीका व्यवसायी आन्दोलित भएका छन्। ब्याजदर घटाउन दवाव दिँदै कैलाली उद्योग वाणिज्य संघको नेतृत्वमा व्यवसायीहरुले शुक्रबार धनगढीमा मौन जुलुस प्रदर्शन गरेका छन्।
कैलाली उद्योग वाणिज्य संघले र्यालीपछि ब्याजदर घटाउन माग गर्दै बैंकर्स एशोसिएशन कैलाली, नेपाल राष्ट्र बैंक र प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको छ।
सरकारको निर्देशनले पनि बैंकहरूले ऋणको ब्याजदर नघटाएपछि उद्योगी–व्यवसायी विरोध गर्न सडकमै उत्रिएका हुन्। ब्याजदरको उच्चबृद्धिले लागत बढेपछि उद्योग व्यवसाय चलाउन अप्ठ्यारो भएको बताउँदै उनीहरुले देशैभर विरोधका कार्यक्रमसमेत घोषणा गरेका छन्।
नेपाल उद्योग वाणिज्य महासंघ, जिल्लास्थित उद्योग वाणिज्य संघलगायत निजी क्षेत्रका संघसंस्थाहरूले विरोधका चरणबद्ध कार्यक्रम ल्याएका छन्।
बैंकहरूले हाल औसतमा १४ प्रतिशत ब्याज लिँदै आएका छन्। विगत दुई वर्षदेखि बैंक तथा वित्तीय संस्थाबाट एकतर्फी रूपमा ऋणको ब्याजदर अत्यधिक वृद्धि भएकाले उद्योग–व्यवसाय क्षेत्रको लागत मूल्य बढेको छ।
बढ्दो लागतले व्यवसाय सञ्चालनमा कठिनाइ भोगिरहेको कुरा बारम्बार ध्यानाकर्षण गराएपनि ब्याजदर बृद्धि नियन्त्रण नगरेपछि आन्दोलनमा उत्रिनुपरेको व्यवसायीले बताए।
कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले बैंकहरुले मान्छे हेरेर १४ देखि १६ प्रतिशतसम्म ब्याज लिइरहेकाले व्यवसायीहरु मारमा परेको बताए। आधार ब्याजदर घटदा सबै ऋणको ब्याजदर घटाउनुपर्ने र बढ्दा बढाउनुपर्ने राष्ट्र बैंकको निर्देशन छ।
आधारदरमा आएको परिवर्तनअनुसार बैंक तथा वित्तीय संस्थाले सबै ऋणको ब्याज घटाउनुपर्नेमा ब्याजदर घटाएका छैनन्। केही बैंकले नयाँ ऋणको ब्याजदरमा कमी आएको जनाएपनि पुरानाको यथावत् नै छ।
कैलाली उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष गोपाल हमालले सही ब्याजदर नहुँदा देशको अर्थतन्त्र नै धराशायी हुने अवस्थामा पुगेको बताए। ब्याजदर एकनासको नहुँदा व्यापारी घाटामा जाने र व्यापारीलाई परेको मार प्रत्यक्ष ग्राहकलाई पर्ने हुँदा बैंकहरुले मनोमानी तरिकाले लगाएको ब्याज नियन्त्रण गर्नुपर्ने उनको भनाई छ।
किराना व्यवसायी संघ कैलालीका अध्यक्ष लक्ष्मण पन्तले तरलता अभाव र ब्याजदर वृद्धिको समस्या हल गर्न सरकार, राष्ट्र बैंक र सरोकारवालासँग आग्रह गरे। व्यापारीको ढाड सेक्नेगरी बैंकहरुले ब्याज बढाएको भन्दै उनले आपत्ति जनाए। बैंकहरुले बढाएको ब्याजकै कारण समानको दरपनि बढाउनुपरेको उनको भनाई छ।