बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएकी छन् ।
बुधबार दिउँसो विश्वासको प्रस्तावमा मतविभाजन गर्न बसेको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले राजीनामा दिएकी हुन् । विश्वासको मत नपाउने भएपछि शाक्यले राजीनामा दिएकी हुन् ।
एमाले उपाध्यक्षसमेत रहेकी शाक्य गत भदौ २ मा एमालेबाट मुख्यमन्त्री बनेकी थिइन् । नेकपा एमाले विभाजित भई नेकपा एकीकृत समाजवादी (एस) बनेपछि मुख्यमन्त्री शाक्यले संविधानअनुसार एक महिनाभित्र विश्वासको मत लिनुपर्ने थियो ।
मुख्यमन्त्री शाक्यले विश्वासको मतसम्बन्धी प्रस्ताव असोज २४ गते प्रदेशसभा सचिवालयमा पेश गरेकी थिइन् । उक्त प्रस्तावमा कात्तिक ४ गते बागमती प्रदेशसभामा छलफल भएको थियो । त्यसपछि मत विभाजनका लागि बुधबारसम्मका लागि प्रदेशसभा बैठक स्थगित गरिएको थियो ।
पार्टी विभाजनअघि नेता नेपालको समूहमा रहेकी शाक्यले अन्तिम समयमा गुट बदलेर केपी शर्मा ओली समूहमा गएपछि पार्टीले उनलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो । तर पार्टी विभाजनसँगै शाक्यले मुख्यमन्त्री गुमाउने निश्चितप्रायः थियो ।
नयाँ मुख्यमन्त्री को ?
शाक्यको राजीनामासँगै विपक्षी गठबन्धनले भावी मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई अघि सारेको छ ।
एकीकृत समाजवादीका नेता पाण्डे बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुन लागेको नेताहरूले बताएका छन् । पाण्डे गत भदौमा भएको एमाले विभाजनमा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा समावेश भएका थिए ।
प्रक्रिया
शाक्यले प्रदेश प्रमुख यादव शर्मासमक्ष राजीनामा बुझाइसकेकी छन् । योसँगै अर्को सरकार गठनका लागि बाटो खुलेको छ । अब नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया सुरु हुँदैछ ।
प्रदेशमा रहेका दलहरुमध्येबाट बहुमत पुर्याउन सक्ने दलबाट मुख्यमन्त्री चयन गर्न प्रदेश प्रमुख यादव शर्माले समय दिनेछन् । बुधबार राजीनामा दिएकी मुख्यमन्त्री शाक्यको राजीनामा स्वीकृत गरेपछि प्रदेश प्रमुख शर्माले नयाँ मुख्यमन्त्री चयनको लागि आह्वान गर्नेछन् ।
बागमतीमा माओवादी केन्द्र, कांग्रेस, नेकपा एकीकृत समाजवादीलगायतका दलबीच गठबन्धन छ । सोही गठबन्धनबाट राजेन्द्र पाण्डे मुख्यमन्त्री बनाउने यसअघि नै सहमति भइसकेको छ ।
तीन दलका ५८ सांसद छन् । प्रदेशसभामा ११० सदस्य रहेको वाग्मती प्रदेशमा नयाँ सरकार गठनका लागि ५६ सांसदको समर्थन आवश्यक पर्छ ।
सरकार गुमाउँदै एमाले, पाउँदै नेकपा एस
प्रदेशसभाको पहिलो निर्वाचनपछि सबैभन्दा धेरै मत ल्याएर सातमध्ये चार प्रदेशमा सरकारको नेतृत्व गरेको नेकपा एमालेले एउटाबाहेक सबै प्रदेश सरकारको नेतृत्व गुमाएको छ ।
बुधवार बागमती प्रदेशमा आफ्नो सरकार गुमाएसँगै एमाले नेतृत्वको सरकार अब प्रदेश नं १ मा मात्रै बाँकी छ । यसअघि एमालेले गण्डकी र लुम्बिनी प्रदेशको सरकार गुमाएको थियो ।
संकट
प्रदेश नं १ मा पनि एमाले नेतृत्वको सरकार सङ्कटमा छ । प्रदेश नं १ का मुख्यमन्त्री भीम आचार्यले पनि आगामी सोमवार प्रदेशसभामा विश्वासको मत परीक्षण गर्दैछन् ।
एमालेबाहेक अरू विपक्षी दलको गठबन्धन प्रदेशसभामा बलियो देखिएका कारण आचार्यले पनि मुख्यमन्त्री गुमाउने सम्भावना अधिक छ ।
प्रदेश १ मा एमाले विभाजन गरेको नेपालको पार्टीले मुख्यमन्त्री पाउने छ ।
प्रदेश १ मा सरकार गुमेसँगै एमाले पूर्णतयाः सरकार बिहीन हुनेछ भने नेकपा एसले दुई प्रदेशको नेतृत्व गर्नेछ ।