विवेकशील साझा युवा संगठनका अध्यक्ष अब्दुश मियाँले नेपाली काँग्रेसका युवा नेताहरुलाई खुल्ला चुनौती दिएका छन्। काँग्रेसको महाधिवेशन आउँदै गर्दा अब्दुशले काँग्रेसका कुनै पनि युवा नेतामा नेतृत्वबिरुद्द उम्मेद्वारी दिने हिम्मत नभएको बताएका छन्। १४ औँ महाधिवेशनको तयारीमा रहेकाे काँग्रेसका युवा नेताहरुको औकात हेर्ने पनि बताए।
‘नजाने कहिलेदेखि पार्टी सभापति रहेका र चार पटक प्रधानमन्त्री भैसकेका शेरबहादुर देउवा फेरि एक पटक कांग्रेसको सभापतिको उम्मेद्वार बन्ने तयारीमा हुनुहुन्छ,’, अब्दुश भन्छन्, ‘मलाई कांग्रेसका अधिकांश युवा नेताहरुको हैसियत थाहा छ, त्यसकारण देउवाको विरुद्धमा उम्मेद्वारी दिन सक्ने कुनै युवा उभिएला भन्ने लाग्दैन।’ उनले कांग्रेस पार्टीमा आफूलाई हुट्टिट्याउँ ठान्ने र आफैँले आकाश धानेको छु भन्ठान्ने अनेक नेता पनि देखेको बताए।
उनी अगाडी लेख्छन्, ‘बेलाबखत चिया पसलमा, टेलिभिजन अन्तरवार्तामा अनि क्लबहाउस लगायत फोरमहरुमा युवा नेतृत्व, गौरवशाली कांग्रेस पार्टी सुधार, ईफेक्टिभ लिडरशिप लगायत विषयहरुमा प्रवचन दिने कांग्रेस निकट बुद्धिजीवीहरु अब एकाएक दुलोभित्र छिर्नेछन्। अरे यार! उनीहरुलाई पनि त आफ्नो औकात थाहा छ नि!’
यद्धपी, अब्दुशले कांग्रेस पार्टी सुधार होस् भन्ने चाहेको बताएका छन्। युवा नेताहरुले अग्रसरता देखाउन् भन्ने चाहेको बताउँदै उनले भने, ‘गफमा त सबैले गरे, यथार्थमा कांग्रेसको नेतृत्व लिनसक्ने कोहि प्रभावशाली युवा नेता रहेछन् भने हेरौँला र शुभकामना दिउँला भनेर पर्खिरहेको छु।