पुरानो व्यापारिक शहर भद्रपुरलाई भारतको बिहार र बङ्गालसँग जोड्ने मेची पुल बनेको तीन वर्षपछि बल्ल भारतीय पक्षले पहुँच मार्गको निर्माण गरेको छ। भारतीय सीमा क्षेत्रमा पहुँच सडक नबन्दा लामो समयदेखि पुल प्रयोजनविहीन भएको थियो। भारतको विहार सरकारले पहुँच मार्गका रूपमा रहेको गलगलिया बजारबाट मेची पुलसम्मको ६५० मिटर लामो दुईलेनको पक्की सडक र त्यही सडकमा ३० मिटर लम्बाइको पुलसमेत निर्माण गरेको नेपाल–भारत मैत्री सङ्घ झापाका अध्यक्ष प्रदीपमणि रेग्मीले बताए।
मेची पुलको पश्चिम भागमा नेपालतिर सडकको कुनै समस्या छैन । अब भारतीय क्षेत्रमा समेत पहुँच मार्गको निर्माण भएपछि दुवै देशबीच आवतजावत र मालसामानको ढुवानीमा सहज हुने रेग्मीले बताउनुभयो । पहुँच मार्ग नबन्दा मालसामान ढुवानी गर्ने र सवारीका साधनलाई ओहोरदोहोरमा कठिनाइ थियो। गलगलियाका पूर्वमुखिया गणेश रायले पहुँच मार्ग रु आठ करोड ५० लाखको लागतमा निर्माण भएको जानकारी दिए। मेची पुल नेपाली भूभागमा रहेको छ।
पुल जोड्ने भारतीय भूभाग पश्चिम बङ्गाल र बिहार प्रान्तको सिमानामा पर्ने भएकाले पहुँच मार्ग कता लैजाने भन्नेमा भारतीयहरुबीच विवाद थियो। अहिले पहुँच सडक विहारतिर लगिएको छ । नेपाल–भारत मैत्री सङ्घ झापाका अध्यक्ष रेग्मीले नेपाली पक्षले मेची पुल निर्माण गरिसकेको तीन वर्षसम्म भारतीय पक्षबाट पहुँच मार्ग नबनाइँदा नेपाली व्यवसायी र भद्रपुरबासीले दवाव सिर्जना गरेका कारण अहिले सडक बनेको बताए।
पहुँच मार्ग छिटो निर्माण गर्नका लागि प्रदेशसभा सदस्यद्वय ओमप्रकाश सरावगी र बसन्त बानियाँ, झापा उद्योग वाणिज्य सङ्घका अध्यक्ष यमबहादुर श्रेष्ठ, भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश १ का अध्यक्ष टीकाराज ढकाल, नेपाल–भारत मैत्री सङ्घका जिल्ला अध्यक्ष रेग्मीलगायतले भारतीय सरोकारवाला पक्षलाई भेटेर सो सडक बनाउन पटकपटक दवाव दिएका थिए। पहुँच सडक बनेपछि बाह्रै महिना मेची पुल प्रयोगमा आउने र त्यसबाट भद्रपुर भन्सारमार्फत व्यापार बढ्ने अपेक्षा गरिएको छ। यसअघि सडक नबन्दा कोइला, क्लिङ्कर, पेट्रोललगायतका ठूला मालबाहक ट्रकद्वारा आयात गरिने सामग्री मेची भन्सार हुँदै नेपाल ल्याइने गरिएको थियो।