मुख्यमन्त्री लालबाबु राउतले आज जनकपुरधाममा अक्सिजन प्लान्टको उद्घाटन गरेका छन्। एसआरजे समूहद्वारा ७ करोड़को लागतमा जनकपुरधाम उपमहानगरपालिकाको वडा नं. २३ मा स्थापना गरिएको सो ग्यास उद्योगबाट दैनिक ४ सय ५० वटा सिलिण्डर अक्सिजन उत्पादन हुने जनाइएको छ।
सो अवसरमा मुख्यमन्त्री राउतले अक्सिजन उद्योगको स्थापनाले यस क्षेत्रमा अक्सिजनको अभाव नहुने विश्वास व्यक्त गरे। उनले उद्योग स्थापना गर्ने सञ्चालकहरूलाई धन्यवाद दिदैं कोरोना महामारीसँग जुध्नमा अक्सिजन महत्वपूर्ण रहेको धारणा पनि राखे।
एस आर जे समूहका अध्यक्ष शिवनन्दन साहको सभापतित्वमा भएको सो समारोहमा सामाजिक विकास मन्त्री नवलकिशोर साह, प्रदेशसभा सदस्य करिना बेगम, पूर्व कृषि मन्त्री हरिनारायण यादव, मुख्यन्यायाधिवक्ता दिपेन्द्र झाको सहभागिता रहेको थियो।