काठमाडौँ । सरकारले श्रमिकको न्यूनतम तलब बढाएको छ । श्रमिकको न्यूनतम तलब बढेर १९ हजार ५५० रुपैयाँ पुगेको छ ।सरकार, रोजगारदाता र ट्रेड युनियनबीच चियाबगान बाहेकका क्षेत्रमा कार्यरत श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार ५५० रुपैयाँ निर्धारण गर्ने सहमति भएको हो ।
सहमतिअनुसार उक्त पारिश्रमिकमध्ये आधारभूत पारिश्रमिकबापत १२ हजार १७० रुपैयाँ र महङ्गी भत्ताबापत ७ हजार ३८० रुपैयाँ रहेका छन् । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र लगायतका प्रतिनिधिहरूसँगको छलफल र सुझावका आधारमा श्रम ऐन, २०७४ को दफा १०६ (१) बमोजिम सरकारले यो निर्णय गरेको हो ।
श्रमिकको तलब यसअघिको भन्दा २ हजार २५० रुपैयाँले बढी हो । यसअघि चिया बगानबाहेकका श्रमिकको न्यूनतम तलब १७ हजार ३ सय रुपैयाँ थियो । यो पारिश्रमिक प्रतिघण्टाको ज्याला ८९ रुपैयाँ थियो भने आंशिक रूपमा काम गर्ने श्रमिकको भने प्रतिघण्टा ९५ रुपैयाँ न्यूनतम पारिश्रमिक थियो।
नयाँ पारिश्रमिक साउन १ गतेदेखि नै लागू भएको छ । चिया बगानको हकमा भने सरोकार पक्षसँग थप छलफल गरेर पछि निर्धारण हुनेछ । यसैगरी, दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक ७५४ रुपैयाँ रहेको छ । यसमध्ये आधारभूत ४७० र महङ्गी भत्ता २८४ रुपैयाँ छ ।
त्यस्तै, प्रतिघण्टाको पारिश्रमिक १०१ रुपैयाँ पारिश्रमिक निर्धारण गरिएको छ । यसमध्ये आधारभूत ६३ र महङ्गी भत्ता ३८ रुपैयाँ कायम गरिएको छ । आंशिक समय काम गर्ने कामदारको हकमा भने प्रतिघण्टा न्यूनतम पारिश्रमिक १०७ रुपैयाँ तोकिएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले औद्योगिक सम्बन्धलाई सुमधुर बनाउन तीनवटै पक्षले लचकता कायम गर्दै सहमतिको आधारमा न्यूनतम तलब निर्धारण गरिएको बताएका छन् । श्रम ऐन–२०७४ को अनुसार हरेक दुई आर्थिक वर्षमा अनिवार्य रुपमा नयाँ न्यूनतम तलब निर्धारण हुनुपर्छ ।

