काठमाडौं– विभिन्न मुलुकमा अलपत्र १ हजार ३ सय १३ नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीको विभिन्न एयरलाइन्सले उद्धार चार्टर उडानमार्फत उनीहरुलाई स्वदेश फर्काएका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवै गरी १५ अन्तर्राष्ट्रिय चार्टर उडान भएका छन् । नेपाल एयरलाइन्सले दुबईबाट २६५ र दोहाबाट १५१ यात्रु काठमाडौं ल्याएको छ । त्यस्तै, कतारको दोहाबाट १५१ यात्रु नेपाल ल्याएको छ । सोही एयरलाइन्स थप नेपालीको उद्धारका लागि रियाद र दमाम प्रस्थान गरेको विमानस्थलले जनाएको छ ।
हिमालय एयरलाइन्सले दमामबाट १५४ यात्रु तथा दुई शव नेपाल ल्याएको छ । अबुधाबीबाट १५४ यात्रु ल्याएको छ । हिमालयकै जहाजले इराकको बगदादबाट ३९ यात्रु ल्याएको छ । काठमाडौँबाट बगदाद जाँदा ३६ यात्रु लगेको थियो । थप नेपालीको उद्धारका लागि हिमालयको जहाज दोहा र दमाम उडेको छ ।