दमौली– चिसो मौसम शुरु भएसँगै मादीसेती नदीमा जलविहार शुरु गरिएको छ। कात्तिक महिना शुरु भएपछि जलविहारका लागि मादीसेती नदीमा विदेशी पर्यटकको आकर्षण बढेको हो। मादीसेतीमा जलविहार गर्न दैनिक २५–३० विदेशी पर्यटक आउने गरेका व्यवसायी बताउँछन्।
नेपालका अन्य नदीभन्दा मादीसेती नदीको यात्रा सुरक्षित रहेकाले यहाँ जलबिहार गर्न पर्यटक आकर्षित हुने गरेका व्यवसायीको भनाइ छ। मादीसेती चिसो मौसममा पनि न्यानो हुने भएकाले यहाँ पर्यटक जलविहार गर्न रुचाउने गरेको यति होलिडेजका वरिष्ठ जलविहार प्रशिक्षक रामेश्वर श्रेष्ठले जानकारी दिएका छन्।
उनका अनुसार भोटेकोशी, त्रिशूली, कालीगण्डकीलगायतका नदी चिसो र ‘हाइ¥यापिड’ नदी भए पनि मादीसेती ‘जिरो थर्मल’ नदी भएकाले यहाँ जलविहार सुरक्षित मानिने गरेको छ। दमौलीस्थित मादी नदीको पुल र व्यास गुफा क्षेत्रबाट जलविहार हुने गरेको छ।
यहाँबाट शुरु हुने जलविहार चितवनको गाईघाट पुगेर टुङ्गिन्छ। श्रेष्ठका अनुसार दमौलीबाट गाईघाटसम्म २२ माइल दूरी छ। दमौलीबाट शुरु हुने जलविहारको पहिलो दिन पर्यटकले आँबुखैरेनी गाउँपालिकास्थित धरमपानीको ढावमा रात बिताउँछन्।
दोस्रो दिन त्यस ठाउँको भ्रमण गरेर तेस्रो दिन गाईघाट पुगेर जलविहारको यात्रा टुङ्गिन्छ। जलविहारका क्रममा यस ठाउँमा देखिने दृश्यले गर्दा पर्यटक मोहित हुने गरेका श्रेष्ठले बताउछन्। उनले भने, ‘हरियाली डाँडाकाँडा, मनोरम दृश्य अनि चराचुरुङ्गीको आवाज जलविहारमा देख्न र सुन्न पाइन्छ, जसले पर्यटक आकर्षित हुने गरेका छन्।’
यति होलिडेजका प्रशिक्षक हरि श्रेष्ठले एकपटक मादीसेतीमा जलविहार गरेका पर्यटक दोहो¥याएर आउने गरेका जानकारी दिएका छन्। ‘मादीसेती जलविहारका लागि सुरक्षित छ, जसका कारण पर्यटक मादीसेतीमा जलविहार गर्न रुचाउने गरेका छन, श्रेष्ठले भने।
मादीसेतीमा पानीको वहाब राम्रो भएको, मनोरम प्राकृतिक दृश्यावलोकन गर्न पाइने भएका कारण जलविहारका लागि उपयुक्तसँगै आनन्द हुने पर्यटकको भनाइ छ।
दमौलीदेखि चितवनको घुमाउनेघाटसम्मको जलयात्रा रोमाञ्चक हुने भएका कारण पोखरा घुम्न आउने अधिकांश पर्यटक मादीसेतीमा जलविहार गर्न रुचाउने तनहुँ पर्यटन विकास समितिका अध्यक्ष हरिसिं गुरुङले बताउछन्। सो नदीमा बाह्रै महिना जलविहार गर्न सकिने भएकाले यसतर्फ ध्यानदिनुपर्ने उनको सुझाव छ। (रासस)