नवलपरासी– पूर्वी नवलपरासी जिल्लाको त्रिवेणीदेखि दुम्किबास जोड्ने सडकखण्डको २०६५ साल मै ‘ट्र्याक’ खोलिए पनि सो लगत्तै सडकखण्ड निर्माणकार्य अलपत्र परेको छ। प्रदेश नं. ४ अन्तर्गत पूर्वी नवलपरासी जिल्लाको विनयी त्रिवेणी गाउँपालिकाअन्तर्गत वडा नं. १ दुम्किबास र वडा नं. ६ त्रिवेणी जोड्ने करीब सात किलोमिटरको सडकखण्डको २०६५ सालमा ट्र्याक खोलिएको थियो। यद्यपि अहिले सो सडकखण्डमा ट्र्याक खोल्नुअघि निर्माण गरिएको अस्थायी सडक सञ्जालका संरचनासमेत बिग्रिसकेको अवस्था छ भने सडक पूर्णरुपमा बन्द रहेको छ।
निकुञ्ज र निकुञ्ज आसपासको क्षेत्र मानिने मध्यवर्ती सामुदायिक वन क्षेत्रको केही भाग सडकमा परेका कारण सडक निर्माण गर्न समस्या भएको विनयी त्रिवेणी गाउँपालिका–६ का वडाध्यक्ष प्रितमबहादुर गुरुङ बताछन्। साविक नवलपरासी जिल्लाको दुम्किबास गाविस, त्रिवेणी गाविस, स्थानीय जनश्रमदान गरी लाखौँ रकम खर्चिएर बाटोको ट्र्याक खोलिएको थियो। तर ट्र्याक खोलिएको वर्षौं बितिसक्दा पनि सडकको थप स्तरोन्नति हुन सकेको छैन। सडक सञ्चालन गर्न स्थानीय सरकारदेखि गण्डकी प्रदेश सरकार सकारात्मक देखिएका छन्।
अब तत्कालै सो सडक सञ्चालन गर्न प्रदेश सरकार र केन्द्रीय सरकारसमक्ष पहल भइरहेको विनयी त्रिवेणी गाउँपालिकाका उपाध्यक्ष मीरा राना बताउछीन्। सो सडक २०२९ सालभन्दा अघि मानिसको हिँडडुल गर्ने सडकका रुपमा प्रयोग हुने गथ्र्याे। त्यसपछि सो सडकखण्डको केही भाग चितवन राष्ट्रिय निकुञ्ज क्षेत्र र केही भाग मध्यवर्ती सामुदायिक वन क्षेत्रमा परेकाले बाटो निर्माणमा समस्या भएको मध्यवर्ती क्षेत्र त्रिवेणी उपभोक्ता समितिका अध्यक्ष लक्ष्मणप्रसाद गौतम बताउछन्।
अब तत्कालै त्रिवेणी–दुम्किबास–सडक निर्माण कार्य अघि बढाउन स्थानीय सरकारदेखि केन्द्रीय सरकारसम्म पहल भइरहेको सांसद तिलक महत बताउनुहुन्छ । सो सडक निर्माणका लागि प्रारम्भिक वातावरणीय परीक्षण (आइइई) र वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) तयार गर्ने कार्य भइरहेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरे बताउछन्। सडक निर्माणका क्रममा आवश्यक पर्ने काट्नुपर्ने रुखको विवरण सङ्कलन गर्ने काम सकिएको छ।
सडक निर्माणका क्रममा वन्यजन्तु ओहोरदोहोरो गर्ने क्षेत्रलाई मध्यनजर गर्दै निर्माण हुनुपर्ने सूचना अधिकारीको भनाइ छ। सो सडक सञ्चालन नहुँदा विनयी त्रिवेणी गाउँपालिकाअन्तर्गत वडा नं. ६ र ७ का स्थानीयवासी आफ्नो गाउँपालिकाको मुख्य प्रशासनिक भवन दुम्किबास जान पनि पश्चिम नवलपरासीको बर्दघाट हुँदै पूर्वी नवलपरासीको दुम्किबास पुग्नु करीब ४० किलोमिटर यात्रा गर्नुपर्ने बाध्यता रहँदै आएको छ।
त्रिवेणी–दुम्किबास–सडक निर्माण भएमा प्रदेश नं. ४ मा भारतको सिमाना जोडिएको एकमात्र नाका त्रिवेणीमा रहेको त्रिवेणी छोटी भन्सारको समेत स्तरवृद्धि भएमा यस क्षेत्रको आर्थिक विकासमा टेवा पुग्ने विश्वास लिएको छ। (रासस)